सुदूरपश्चिममा क्रियाशील विभिन्न नौ विद्यार्थी सङ्गठनले सुदूरपश्चिम विश्वविद्यालयले तोकेको चर्को शुल्क वृद्धि खारेजीको माग अघि सारेका छन्।
आइतबार ९ विद्यार्थी सङ्गठनले संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गर्दे विश्वविद्यालयका सम्पूर्ण क्याम्पसमा पढाइ र सेवा सुविधा पुरानै रहेको अवस्थामा मनोमानी तरीकाले शुल्क वृद्धि भएको प्रति ध्यानाकर्षण भएको जनाएका छन्।
नेपाल विद्यार्थी सङ्घका निवर्तमान केन्द्रीय सदस्य अच्युतराज कलौनी, अखिल (क्रान्तिकारी) सेती महाकाली इन्चार्ज वीरेन्द्र शाह, अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सदस्य भीम भट्ट, अनेरास्ववियु केन्द्रीय सदस्य कमल रोकाया, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्घ सुदूरपश्चिम इन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष उमेश बिस्ट, अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशका कार्यवाहक संयोजक पुष्कर जोशीद्धारा हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ,–उक्त चर्को शुल्क वृद्धि तत्काल खारेज गर्न जोडदार माग गर्दछौँ।’
अन्यथा संयुक्त विद्यार्थी सङ्गठन चर्को शुल्क वृद्धिको विरुद्धमा कडा भन्दा कडा सङ्घर्षमा उत्रने चेतावनी दिइएको छ। सुदूर पश्चिमाञ्चल विश्वविद्यालयले सबै संकायमा यस वर्ष देखी लागु हुने गरी शुल्क वृद्धि गरिएको जनाएको छ। वि.एस.सी. जनरल, वि.एस.सीं आइटी, बिबिए, बिबिएस, बिएड, बिएड कम्प्युटर, बिए. मा दोब्बरले शुल्क वृद्धि गरेको पाइएको हो।
प्रतिक्रिया दिनुस