सिरहाको लाहन नगरपालिकामा रहेको मालपोत कार्यालयमा बम विस्फोट हुँदा ८ जना घाइते र घाइतेमध्ये दुईजना गम्भीर घाइते भएका छन् । सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बम विस्फोटमा परी घाइते भएकाको संख्या आठ पुगेको बताए। त्यसमध्ये दिनेशकुमार भण्डारीको अवस्था गम्भीर छ। उनको पूरै खुट्टा चुँडिएको स्थानीय प्रशासनले जनाएको छ। यसैगरी स्थानीय फूलकुमारी ठाकुरको कञ्चटमा चोट लागेको छ।
दुवै जनालाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी निरौलाले गृह मन्त्रालयसँग समन्वय गरेर हेलिकोप्टर मगाइएको र हेलिकोप्टर काठमाडौंदेखि सिरहाका लागि उडिसकेको जानकारी पाएको बताए। उनीहरूको हाल लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ। विस्फोटमा परी मालपोत कार्यालय लाहानका नायव सुब्बा शिवकुमार यादवसँगै भोलाबहादुर मगर, लालबहादुर विक, बद्रीनाथ यादव, लक्ष्मी राना र चेतन मगर घाइते भएका छन्।
उनीहरूको लहानमा रहेको सरकारी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपन दाहालले बताए। घटनास्थलमा जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह) लेखिएको पर्चा भेटिएको प्रहरीले जनाएको छ । आज बिहानमात्र गोइत समूहका नेता रामविलाश यादवले आत्मसमर्पण गरेका थिए । यादव गोइत समूहका सेकेण्ड म्यान (नाइके) रहेका थिए । यादवले साढे १० बजे जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति बुझाउँदै आत्मसमर्पण गरेका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राजभण्डारीले बताए ।
यादवको आत्मसमर्पणलाई लिएर नै समूहका असन्तुष्ट पक्षले विस्फोट गराएको हुनसक्ने प्रहरीको आशंका गरेको छ । मध्यान्न करिब १२ः४० बजे मालपोत कार्यालयको दोस्रो तलामा अज्ञात समुहले बम विष्फोट गराएको र विष्फोटले आगलागी हुँदा कार्यालयको कागजात जेलेको प्रहरीले बताएको छ । प्रारम्भिक अनुसन्धानबाट प्रेशर कुकर बम विष्फोट गराएको प्रहरीले बताएको छ । अहिले घटना स्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरु खटिएका छन् ।