चैत्र महिना सुरु भएसँगै सुदूरपश्चिममा भिटौलाको रौनक शुरु भएको छ। बैतडी सहितका अन्य जिल्लाहरुमा चैत्रको महिना विवाहित छोरीबेटीलाइ माइतीले कोसेली सहित भेट्ने चलन रही आएको हो।
माइती पक्षका तर्फबाट कोसेलीसहित दिदि बहिनीहरुको घरमा पुग्ने चलन रहेको दशरथचन्द नगरपालिका–२ की पार्वती बोहराले बताइन्। उनले भनिन्‘ चैतको महिना हरेक बर्ष विवाहित छोरीबेटीहरुलाई भेट्ने चलन रही आएको छ। माइती पक्षले यो महिना भेटघाट गर्दा खुसी लाग्ने गरेको छ।’ परापूर्वकालदेखि नै यो क्षेत्रमा चैतको महिना माइती पक्षले छोरी बहिनीहरुलाई भेटघाट गर्ने चलन रही आएको स्थानीय संस्कृतिका जानकार गणेशदत्त अवस्थीले बताए।
उनले भने,–‘पहिला पहिला सञ्चारका साधनहरु पनि थिएनन्। सानै उमेरमा बिहे गरिदिने चलन थियो। माइती पक्षको छोरी बहिनीहरुलाई नियास्रो पनि लाग्ने गरेको थियो। त्यसैले माइती पक्षले कोसेलीसहित भेटघाट गर्ने चलन चलेको हो। यो चलन अहिले पनि छ।’चैतको महिनाको शुरुदेखि महिनाभरी विवाहित छोरीचेलीहरुलाई भेट्ने चलन रही आएको स्थानिय बताउछन्।
वसन्त ऋतुमा पराई घरमा छोरी चेलीलाई माइतीको सम्झना बढी आउने हुँदा यो चलन बसेको पण्डित भोजराज पन्त बताउनुहुन्छ ।
भिटौलोमा स्थानीय परम्पराअनुसार सेलरोटी, खीर, मालपुवा, हलुवा, गुड, मिश्री, फलफूल र क्षमताअनुसार लुगा र गहनासमेत दिने चलन छ । पछिल्लो समय बजारबाट फलफूल, मिठाई, गुड लगेर दिने चलन छ । भाइटीकामा दिदीबहिनी माइत जाने र चैतमा दाजुभाइले दिदीबहिनीको घर गएर भेट्ने चलन छ । दाजुभाइ नभएका परिवारमा नजिकमा गएर भेट्ने चलन रहेको छ । चैत महिनामा चेलीबेटीलाई दान दिएमा राम्रो फल मिल्ने जनविश्वासका कारण पनि यसको महत्व अझै गाउँघरतिर घटेको छैन । यो महिनाभरि एकरात दिदीबहिनीको घरमा बास बस्ने चलन रहेको छ । यसले दाजुभाइ र दिदीबहिनीको प्रेम सम्बन्धलाई झन नजिक र आत्मीय बनाउने बताइएको छ ।
सामाजिक मूल्य, मान्यता, आदर्श आदिका संवाहक यस्ता किसिमका संस्कृति जीवन्त राख्नुपर्ने संस्कृतिका जानकार बताउँछन् । भौगोलिक विकटता, सञ्चार अभावमा बिहेपछि टाढा रहेका छोरीचेलीलाई माइती पक्षका भाइले वर्ष दिनमा एकपटक भेट्नुपर्ने परम्पराले सुख दुःख आदानप्रदानमा सहज बनाएको छ ।