नेपाल सरकारको संस्थागत सुत्केरी बढाउने नीतिअनुरूप शिवनाथ गाउँपालिकाले ‘सुत्करीलाई उपाध्यक्षको कोशेली’ कार्यक्रमलाई निरन्तरता दिएको छ। हजार दिने आमा तथा शिशुको पोषण स्थितिमा सुधार ल्यानका लागि सो कार्यक्रम गत वर्षदेखि सञ्चालनमा रहेको छ। ‘पोषिलो आहार शिशुको स्याहार, स्वस्थ बालक स्वस्थ नागरिक’ भन्ने नारासहित यो कार्यक्रम सञ्चालन गरिएको हो। संस्थागत सुत्केरी बढाउन र मातृशिशु मृत्युदर घटाउन पनि यो कार्यक्रमले सहयोग गर्ने शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताए।

‘उपाध्यक्षको कोशेली’ कार्यक्रमअन्तर्गत गर्भवती महिलाको घरमा झण्डा राख्ने, स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई पोषिलो खानेकुरा र सरसफाइ सामग्री भएको झोला, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, अन्य जनप्रतिनिधि, संस्थाकर्मीले गर्भवती महिलासँग अन्तक्र्रिया कार्यक्रम सञ्चालन भएका छन्। यस्ता विभिन्न कार्यक्रमलाई संस्थागत सुत्केरी हुनेको सङ्ख्या बढेको उपाध्यक्ष चन्दको भनाइ छ। उनले भने, “गत वर्ष परीक्षणका रुपमा सञ्चालन गरेकामा प्रभावकारी देखिएकाले यो वर्ष पनि निरन्तरता दिएका हौँ।” गाउँपालिकाभित्र रहेका गर्भवती महिलाको घर दुई किसिमको झण्डा राख्ने गरेका छौँ उपाध्यक्ष चन्दले बताए। उनले भने, “गर्भवतीको स्वास्थ्य जाँच गरी सामान्य भएमा हरियो र कुनै किसिमको खतराका लक्षण देखिएमा रातो झण्डा राख्ने गरेका छौँ”, उनले थपे, “झण्डा राख्दा गर्भवती महिलाको घरपरिवारलाई जिम्मेवारी बोध हुन्छ।”स्वास्थ्यसंस्थामै सुत्केरी हुन आउने महिलालाई पोषण र सरसफाइ सामग्री भएको झोला दिने गरिएको छ। झोलामा ज्वानो, मेथी, शुद्ध तोरीको तेल, साबुन, नेलकटर, कोलगेट, मेक्सी, पेन्टीलगायतका ११ सामग्री रहेका हुन्छन्। उनले भने, “झोला उपलब्ध हुने भएपछि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिला बढेका छन्।”नेपाल सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई पहाडी जिल्लाको हकमा रु दुई हजार ८०० पनि दिने गरेको छ।

गर्भवतीसँगको स्वयं जनप्रतिनिधि, स्वास्थ्यकर्मीले अन्तक्र्रिया कार्यक्रम गर्ने भएकाले जनचेतना अभिवृद्धि गर्न पनि सहज भएको छ। घरमै सुत्केरी हुँदा विभिन्न खतरा हुनसक्ने, पोषिलो खानेकुरा सेवन गर्ने, स्वास्थ्यप्रतिको नकारात्मक सोचलाई चिर्न सफल भएका शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले बताए। ‘‘संस्थागत प्रसूतिलाई थप प्रोत्साहन गरी मातृ मृत्यु तथा नवजात शिशु मृत्यु कम गर्न यो अभियान सञ्चालन गरेका हौँ”, उनले भने। ‘स्वास्थ्यमा शान, शिवनाथको पहिचान’ नारा दिएर अन्तक्र्रिया कार्यक्रम गरिएको गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए। कार्यक्रममा गर्भवती महिलाका नियमित स्वास्थ्य जाँच गर्ने कुराका बारेमा पनि जानकारी दिने गरिएको छ। सुत्केरीलाई उपाध्यक्षको कोशेली कार्यक्रमका लागि गाउँपालिकाले ८ लाख बजेट छुट्याएको थियो। शिवनाथ गाउँपालिकाले चालू आर्थिक वर्षभित्रै गाउँपालिकालाई घरमा हुने शून्य सुत्केरी तथा पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने लक्ष्य राखेको छ। ‘पूर्ण संस्थागत सुत्केरी हाम्रो लक्ष्य, स्वस्थ बालक सधैँ रहन्छ सभ्य’ भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरिएको हो। गाउँपालिकामा रहेका छ वडामध्ये एउटा वडालाई गत वर्ष नै पूर्ण संस्थागत सुत्केरी घोषणा गरिसकिएको छ।

वडा नं ३ लाई गत वर्ष नै पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख महताले बताए। उनले भने, “उक्त वडाका कुनै पनि महिला घरमा सुत्केरी नभएकाले पूर्ण संस्थागत सुत्केरी घोषणा गरेका हौँ।” गाउँपालिका–२, ४, ५ र ६ बाट पूर्ण संस्थागत सुत्केरी घोषणा गर्न पत्र गाउँपालिकाको स्वास्थ्य शाखालाई आएको उनले बताए। उनले भने, “ती वडाबाट आएको पत्रअनुसार काम भए नभएको अध्ययन गर्छौं र भएको भए केही दिनभित्रै पूर्ण संस्थागत सुत्केरी घोषणा गर्छौं।” यसैबीच गत वर्षभन्दा यो वर्ष शिवनाथ गाउँपालिकामा गर्भवतीको सङ्ख्या झण्डै दोब्बरले बढेको छ। गत वर्ष स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्या ३२१ रहेकामा यो वर्ष असारसम्म सुत्केरी हुनेको सङ्ख्या ५८६ रहेको स्वास्थ्य शाखा प्रमुख महताले बताए। शिवनाथमा हाल १६ ठाउँबाट प्रसूति सेवा सञ्चालनमा रहेको छ। प्रत्येक वडामा कम्तीमा दुई वटा ठाउँबाट प्रसूति सेवा सञ्चालनमा रहेको हो। पूर्ण संस्थागत सुत्केरी घोषणा गर्न सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएको, सबै गर्भवती महिलाले सरकारको मापदण्डअनुसार चारपटक गर्भजाँच गरेको, गर्भवतीले टिटी खोप लगाएको, नियमितरुपमा आइरन चक्की खाएकोलगायतका सूचक पूरा गर्नुपर्ने हुन्छ। रासस

प्रतिक्रिया दिनुस