अमरगढी नगरपालिका डडेल्धुराले सरकारको अवधारणालाई प्रभावकारी बनाउन खुला सरकार घोषणा गरेको छ । सामुदायिक सूचना प्रविधि केन्द्र उद्घाटनको कार्यक्रमबीच आइतबार अमरगढी नगरपालिका खुला सरकार घोषणा भएको हो। स्थानीय तहले खुला सरकार घोषणा गरी नगरपालिकाको नीति, कार्यक्रम र बजेट हरेक नागरिक सामु पु¥याउने अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए।
आधुनिक युगअनुसार पालिकाले मोबाइल एप र डाटापोर्टलको माध्यमबाट हरेक नागरिकको हातमा सूचना पुग्ने गरि सुशासनका औजार निर्माण गरेको उनले बताए।‘खुला सरकार घोषणासंगै हरेक वडामा सुचना केन्द्र स्थापना गरी जनतालाई समुदायमै सूचना उपलब्ध गराउँछु।’ नगरप्रमुख ओझाले भने। स्थानीय तहका जनप्रतिनिधिहरुलाई जवाफदेहीताका प्राविधिक औजारहरुले सुशासन र पारदर्शिता ल्याउन सहयोगी हुने जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए।सरकारले संचालन गर्ने कार्यक्रमहरुमा नागरिक सहभागीता बढाउन सूचना अतिआवश्यक रहेको उल्लेख गर्दै परशुराम नगरपालिकाका उपप्रमुख कलावती बोहराले हरेक नागरिकले पालिकाको कार्यक्रम र बजेटका बारेमा जानकारी पाउनु जरुरी रहेको बताइन् ।
उनले भनिन्, ‘नागरिकहरुको सक्रियता बढेमात्र सरकार पनि सक्रिय बन्छ।’ त्यस्तै, अजयमेरु गाउँपालिकाका उपाध्यक्ष कलावती भाण, अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले जवाफदेहीताका प्राविधिक औजारहरूको मद्दतबाट स्थानीय तहका हरेक कार्य र गतिविधिको बारेमा जनताले सहजै जानकारी पाउने विश्वास व्यक्त गरेका छन्। साँझेदारी संस्था ग्रामिण वातावरण विकास केन्द्र डडेल्धुराद्वारा संचालित सुशासन परियोजनाको सहयोगमा निर्माण गरिएका सुशासनका औजार तथा प्रणालीहरू एक कार्यक्रमबीच अमरगढी नगरपालिका, परशुराम नगरपालिका र अजयमेरु गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। सेसि नेपालको सहयोगमा संचालित सुशासन परियोजनाले डडेल्धुराका विभिन्न स्थानीय तहका काम कारबाही, योजना तथा सेवा सुविधासहितको जवाफदेहीताका प्राविधिक औजारहरू तयार पारेको थियो।