नेपालले काम रोक्न पत्राचार गरे पनि अटेर गर्दै भारतले सीमा नदी महाकालीको बहाव परिवर्तन गरेर दार्चुला सदरमुकाम पारिपट्टि एकतर्फी रूपमा तटबन्ध निर्माण जारी राखेको छ । सीमा नदीमा संरचना निर्माण गर्दा दुवै देशको सहकार्यमा बनाउनुपर्ने प्रचलनविपरीत नेपाली पक्षसँग समन्वय नगरी भारतले धमाधम तटबन्ध बनाइरहेको हो । गत पुसमै महाकालीको धार बदलिने गरी काम थाल्दा जिल्ला प्रशासन कार्यालय दार्चुलाले रोक्न भन्दै पत्राचार गरेको थियो ।
त्यसको बेवास्ता गर्दै भारतले करिब एक सय २० मिटर लामो तटबन्ध निर्माण गरिसकेको छ । अझै करिब २०–२५ मिटरमा जग राख्ने काम भइरहेको छ । महाकालीको धार नेपालतर्फ फर्काएर संरचना निर्माण गरिरहेकाले बर्खामा बाढी र कटानको जोखिम बढेको छ ।महाकाली पारिको नेपाली भूमिमै भारतले तटबन्ध बनाउन सुरु गरेपछि पुस २५÷२६ गते नापी विभागको प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर त्यसको प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई बुझाएको थियो । तर परराष्ट्रले अहिलेसम्म उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन । नेपालको कति क्षेत्रफलमा भारतले तटबन्ध बनाएको भन्नेबारे स्थलगत अध्ययन गर्न आएको टोलीको नापी विभाग प्रमुख दयानन्द जोशीले नेतृत्व गरेका थिए । ‘हामीले स्थलगत अध्ययन प्रतिवेदन परराष्ट्र मन्त्रालयमा बुझाइसक्यौं,’ उनले भने, ‘त्यसबारे बुझ्न परे उतै सोध्नुस् ।’परराष्ट्र प्रवक्ता सेवा लम्सालले भने नापीको उक्त प्रतिवेदनबारे जानकारी नै नभएको बताइन् ।
पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि त्यसबारे अहिले कुनै जानकारी प्राप्त नभएको बताए । ‘महाकालीमा तटबन्धका कुरा तीन महिनाअघिकै हुनुपर्छ’ मन्त्री ज्ञवालीले भने, ‘हिजोआजकै कुरा हो भने मन्त्रालयमा थप अपडेट लिएर मात्र भन्न सक्छु ।’‘२०७० को बाढीअघि नदी बग्ने क्षेत्रबारे स्थानीयसँग बुझ्दा र नापी कार्यालयमा रहेको नक्सा हेर्दा भारतले करिब २५–३० मिटर वरसम्मको नेपाली भूभागमा तटबन्ध निर्माण गरेको देखिन्छ,’ महाकाली नदी नियन्त्रण आयोजनाका निर्देशक शोभाकर पौडेलले भने । दार्चुलाका महाकाली छेउका स्थानीयले पनि नदीले धार परिवर्तन गर्दा नेपालको भूभाग भारततिर गएको बताए । गल्फैका स्थानीय लोकमणि ठगुन्नाका अनुसार नदी किनारमा गाउँलेले खेल्ने पूरै भाग हाल नदीपारि गइसकेको छ । भू–संरक्षण कार्यालय र त्यसको वरपट्टिको भाग नदीपारि सरेको छ ।