नेपाली काँग्रेसका नेता एवं विराटनगर उपमहानगरका पूर्व मेयर तथा संविधानसभा सदस्य अशोक कोइरालाको निधन भएको छ । मङ्गलबार राति घरमै अचानक बेहोस हुनुभएका ७८ वर्षीय कोइरालाको विराटनगरको न्यूरो अस्पतालमा बिहीबार बिहान निधन भएको हो । अस्पतालले न्यूमोनिया र सामान्य स्ट्रोक भएको परिवारलाई जानकारी दिएको थियो । नेपाली काँग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइराला अशोक कोइरालाका सहोदर दाजु हुनुहुन्थ्यो । कोइरालाका १ छोरा र १ छोरी हुनुहुन्छ ।

२०४४ देखि २०६३ सालसम्म लगातार २० वर्ष नेपाली काँग्रेस मोरङको सभापति हुनु भएका कोइराला २०४९ को स्थानीय निर्वाचनबाट विराटनगर महानगरपालिकाका प्रमुखमा निर्वाचित हुनुभएको थियो । यसपछि राष्ट्रिय सभा सदस्य र संविधान सभा सदस्य पनि बन्नुभयो ।
विद्यार्थी कालदेखि नै नेपाली काँग्रेसको राजनीतिमा सक्रिय कोइराला पञ्चायतकालमा दर्जनौँ पटक पक्राउ पर्नुभएको थियो । करिब ५ वर्ष उहाँले जेल जीवनसमेत बिताउनु भएको थियो । तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा ‘कू’ गरेपछि प्रहरीले सबैभन्दा पहिले विराटनगरमा कोइरालालाई नै पक्राउ गरेको थियो । नेपाली काँग्रेसका पूर्व सभापति बद्रीनारायण बस्नेतका अनुसार आन्दोलन र परिवर्तनका नेतृत्वकर्ता कोइरालाको निधनबाट पार्टी र समाजले एक होनहार र अथक योद्धा गुमाएको बताए।

प्रतिक्रिया दिनुस