बैतडीका ४० विद्यालयमा विद्यालय–प्रहरी सम्पर्क समिति गठन गरिएको छ। समुदाय –प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका ४० विद्यालयमा उक्त समिति गठन गरिएका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिए। प्रहरी निरीक्षक हरिशरण भट्टको नेतृत्वमा प्रहरी टोली अहिले जिल्लाका विभिन्न माध्यमिक विद्यालयमा पुगेर समिति गठन भइरहेको हो। सो समितिमा विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूलाई समेटिएको छ। समितिले समाजमा भइरहेका आपराधिक क्रियाकलापबारे प्रहरीलाई सूचना दिएर सहयोग गर्नेछ।
सूचनाका आधारमा प्रहरीले आफ्नो कार्य अघि बढाउन सहज हुने प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए। ’समितिमा रहेका सदस्यहरूले समाजमा भइरहेका घरेलु हिंसा, लैंगिक हिंसा, बलात्कार जस्ता अपराधको बारेमा प्रहरीलाई जानकारी दिने र प्रहरी ती घटनाहरूमा कानुनी कारवाही गर्ने सहयोग पुग्छ,’ उनले भने, ‘विद्यार्थीलाई पनि प्रहरीले गरेका कामकारवाहीको बारेमा जानकारी गराउने, अपराध अनुसन्धानमा समन्वय गर्ने , शान्ति सुरक्षा कायम गर्न चासो राख्ने र सूचना दिने काममा जागरुक गराउने छ।’यसका साथै विद्यालयमै पुगेर प्रहरीले सचेतना दिने कार्यक्रमलाई निरन्तरता दिएको छ।
समाजमा विभिन्न खालका अपराधहरू बढ्दै गएकाले ती अपराधहरू न्यूनीकरणका लागि यस्तो अभियानलाई निरन्तर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। समुदाय –प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नै जिल्लाका माध्यमिक विद्यालयहरूमा अन्तरक्रिया गर्ने र विभिन्न खालका चेतनामूलक कक्षाहरू सञ्चालन गर्ने गरिएको उनले बताए। उनले भने,‘समाजमा घरेलु हिंसा, बलात्कार जस्ता जघन्य अपराध बढिरहेका छन्। यस्ता घटनाहरूको न्यूनीकरण गर्न र दोषीलाई कानुनी कठघरामा ल्याउनका लागि यो अभियान सञ्चालन गरेका हौं।’ प्रहरीले थालेको यो अभियानले विद्यार्थी र प्रहरी बीचको नजिकको सम्बन्ध कायम गर्न सहयोग पुग्ने सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले बताए। प्रहरीले थालेको यो अभियानले समुदाय र प्रहरी बीचको सम्बन्ध पनि बलियो हुनेछ। उनले भने, ‘विद्यालयमा विद्यार्थीहरूसँग गरिने अन्तरक्रियाले ठूलो सहयोग पुग्छ।
समाजमा विकृतिका बारेमा उनीहरूलाई जानकारी भएमा यसलाई न्यूनीकरण गर्न उनीहरूले सहयोग गर्न सक्छन्।’प्रहरी देख्ने बित्तिकै डराउने गरेकोमा पछिल्लो समयमा यस्ता खालका कार्यक्रमहरूले प्रहरी र नागरिकबीचको सम्बन्धलाई बलियो बनाउने दाबी गरिएको छ। उक्त कार्यक्रम जिल्लाका सबै माध्यमिक विद्यालयमा सञ्चालन गरिने प्रहरीले जनाएको छ।