नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बन्दी रिहाइ र मुद्दा फिर्ताको कुरा उठाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर फागुन २१ मा भएको तीन बुँदे सहमति अनुसार सरकारले बन्दी रिहाइ र मुद्दा फिर्तामा ढिलाइ गरेको गुनासो गरेका छन्।
विप्लवतर्फका वार्ता टोली सदस्य उदयबहादुर चलाउने ’दीपक’ले महासचिवले प्रधानमन्त्रीसँग बन्दी रिहाइ र मुद्दा फिर्तामा भएको ढिलाइबारे प्रश्न उठाएको जानकारी दिए। ’फागुन २१ को सहमति अनुसार विभिन्न जेलमा रहेका बन्दी रिहाइमा सरकारले तदारुकता देखाएको छैन’, उनले भने, ’मुद्दा फिर्ता प्रक्रिया अघि नबढ्दा हाम्रा कतिपय साथीहरुले तनाव झेलिरहनु परेको छ। त्यहीकारण महासचिव कमरेडले प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउनु भएको हो।’
विप्लव र सरकारबीच गत फागुन २ज्ञ गते नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, जेलमा रहेका विप्लव समूहका नेता–कार्यकर्ता रिहा गर्ने र सबै किसिमका मुद्दा खारेज गर्ने सहमति भएको थियो । तर उक्त सहमति अनुसार सरकारले प्रक्रिया अघि नबढाएको भन्दै विप्लवले सरकारको ध्यानाकर्षण गराएका हुन् । उता प्रधानमन्त्री ओलीले नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्तामा सरकार गम्भीर रहेको बताएका थिए।