कञ्चनपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको पुर्नवास नगरपालिका –५ का ५४ वर्षीया एक पुरुषमा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा सोमबार २० जनाको परीक्षणका गर्ने क्रममा उनमा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले ती सोमबार गरिएको पीसीआर परीक्षणमा उनमा संक्रमण पुष्टि भएको जानकारी दिइन्। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले फागुन २९ गते भारतको महाराष्ट्रबाट फर्किएका ती पुरुषमा लक्षण देखिएपछि परीक्षण गराउँदा संक्रमण पुष्टि भएको बताए।
उनका अनुसार ती पुरुषको अहिले कोभिड अस्थायी अस्पतालमा उपचार भइरहेको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि अक्सिजन दिइएको छ। ती पुरुषमा देखिएको कोरोनाको प्रजाति भारतमा देखिएको नयाँ वा पूरानो कुन हो ? भनेर पुष्टि भने भएको छैन। तर अधिकारीहरुले भने पुरानै भाइरस भएको हुनसक्ने अनुमान गरेका छन्। सुदूरपश्चिम प्रदेशमा पछिल्लो केही समय कोरोना भाइरसको संक्रमण शून्य रहेको थियो। तर भारतबाट कोरोनाको दोस्रो देखिन थालेपछि सुदूरपश्चिममा पनि भारतबाट फर्किनेहरुमा संक्रमण पुष्टि हुन थालेको हो।