बैतडीको बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न चौथो संस्करणको उपमेयर कप क्रिकेट प्रतियोगिताको उपाधि थालिगडाले हात पारेको छ । थालिगडाले मंगलबार फाइनल खेलमा साविक विजेता दनपा २ देहिमाडौंलाई ९ विकेटले पाखा लगाउदैं थलिगडाले उपाधि रक्षा गरेको हो । थालिगडा यसअघि पहिलो संस्करणको च्याम्पियन टोली पनि हो । उपाधिसंगै थालिगडाले ४५ हजार हात पार्यो भने देहिमाडौंले ३० हजारमा चित्त बुझायो ।

देहिमाडौंले दिएको ९७ रनको झिनो लक्ष्य थालिगडाले मात्र १ विकेटको क्षतीमा १० ओभरमा सहज रुपमा पुरा गर्यो । उसको जीतमा सुनिता लुहार ३७ र दिव्या कार्की ३० रनमा अविजीत रहिन् । देहिमाडौंकी निर्मला बोहराले मात्र १ विकेट लिईन् । दशरथचन्द खेल मैदानमा त्यसअघि पहिला ब्याटिंग देहिमाडौं १९ ओभरमा ९६ रनमा समेटिएको थियोे । जसमा मिना रावतले सर्वाधिक १७ रन हिर्काइन् । देहिमाडौंलाई सस्तैमा समेट्न थालिगडाकी सुनिता लुहारले ४ विकेट हात पारिन् । उत्कृष्ट प्रदर्शन गरेकी थालिगडाकी सुनिता लुहार ओम्यान अफ द फाइनल भएकी स्कोरर खेमराज भट्टले बताए ।

यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रर्दशन गरेको भन्दै थालिगडाकी दिव्या कार्कीलाई ओम्यान अफ द सिरिज घोषणा गरिएको छ । उनले प्रतियोगिताभर व्यक्तिगत १ सय ६४ रन बनाउनुका साथै ५ विकेट हात पारेकी थिइन् । बेस्ट ब्याट्सओम्यानको उपाधि थालिगडाकै सुनिता लुहारले पाईन् भने खलंगाकी रितु कनौजियाले बेष्ट बलर भईन् । सुनिताले प्रतियोगिताभर १ सय १७ रन बनाएकी थिइन् भने रितुले ९ विकेट झारेकी थिइन् । विजेता तथा उपविजेता खेलाडीलाई दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा, उपप्रमुख मीना चन्द, बैतडी जिल्ला क्रिकेट संघका पूर्व अध्यक्ष तथा जिल्ला समन्वय समितिका सदस्य रमेश बोहरा, नगरक्रिकेट समितिका अध्यक्ष रमेश भट्टलगायतले पुरस्कार वितरण गरेका थिए ।

दशरथचन्द नगरपालिकाको सहयोग तथा नगरक्रिकेट समितिको आयोजना चैत ३ गतेदेखि सुरु भएको प्रतियोगितामा ७ टोली सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुस