सुदूरपश्चिम प्रदेशमा क्षयरोगका बिरामी घटेका पाइएको छ। कोरोना भाईरसको जोखिमका कारण परीक्षण दर घटेपछि क्षयरोगका बिरामीको संख्या घटेको जनाइएको हो। प्रदेशभरी गत आर्थिक बर्षमा २ हजार ७३५ जना क्षयरोगका बिरामी रहेकोमा चालु आर्थिक बर्षको पौष मसान्त सम्म १ हजार २८२ जना क्षयरोगका बिरामी रहेका प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत मनोज ओझाले जानकारी दिए। चालु आर्थिक बर्षको पौष मसान्त सम्म प्रदेशको कैलाली जिल्लामा सबैभन्दा बढी ५०१ जना क्षयरोगका बिरामी रहेका छन् भने कञ्चनपुरमा ३४९ जना रहेका छन् ।
बैतडीमा ७४ जना, दार्चुलामा २५, बझाङमा ७५ र बाजुरामा ५२ जना क्षयरोगका बिरामी उपचारमा रहेका छन् । यस्तै डडेल्धुरामा ६०, डोटीमा ८२ र अछाममा ६४ जना क्षयरोगका बिरामी रहेका छन् । गत आर्थिक बर्षमा कोरोनाको जोखिमका कारण क्षयरोगका बिरामीको परीक्षणदर घटेकाले यो बर्ष भने क्षयरोगका बिरामी बढ्ने अनुमान गरिएको क्षयकुष्ठ अधिकृत ओझाले जानकारी दिए। नेपाल सरकारले क्षयरोगका बिरामीहरुलाई निशुल्क उपचारको व्यवस्था गरेको छ भने निशुल्क परीक्षणको व्यवस्था समेत गरेको छ ।
२ हप्तामा वा लामो समय सम्म लगातार खोकी लागेमा, साँझ पख हल्का ज्वरो आउने लगायतका लक्षण भएमा क्षयरोग हुन सक्ने भएकाले नजिकको स्वास्थ्य संस्थामा चेकजाँच गराउन पनि क्षयकुष्ठ अधिकृत ओझाले बताए। नियमित रुपमा औषधि सेवन गरेमा क्षयरोग पूर्ण रुपमा निको हुने भएकाले यो बिषयमा सबैले जानकारहरु हुनुपर्नेमा उनले जोड दिए।