प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। चैत २० गते पार्टी कार्यालय सानेपा केन्द्रीय कमिटीको बैठक बोलाएको हो। कांग्रेसको १४ औँ महाधिवेशनको विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको सचिव कृष्णप्रसाद पौडेलले बताए। कांग्रेसको १४ औँ महाधिवेशन ७ देखि १० भदौमा तोकिएको छ।

कांग्रेसको चैत १० गतेसम्म क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाइसक्नुपर्ने तोकिएको छ। तर, हालसम्म ९ जिल्लाले क्रियाशील वितरणका काम सुरु गरेको छैन। क्रियाशील सदस्यता सुरु नै नभएका सप्तरी, सिरहा, धनुषा, रसुवा, बारा, बर्दिया, बाँके, रुकुम पूर्व र डोल्पा रहेको कांग्रेस नेता रमेश लेखकले सोमबारको पदाधिकारी बैठकपछि बताएका थिए।

कांग्रेसमा ३ लाख ९२ हजार ७ सय ९४ जनाले क्रियाशील सदस्यताको सम्पूर्ण जानकारी इन्ट्री भइसकेको र त्यसमध्ये नयाँ १ लाख ८० हजार २ सय ७५ जना र नवीकरण भएकोमा २ लाख १२ हजार ५ सय १९ जना रहेको छ। मुलुकभर १० लाख क्रियाशील सदस्य रहेको अनुमान कांग्रेसले गरेको छ। कांग्रेसले महाधिवेशनको पूर्वसन्ध्यामा नवीकरण र नया वितरणका लागि भोलि मंगलबारसम्म समय दिएको थियो।

प्रतिक्रिया दिनुस