डोटीको पूर्वीचौकी गाउँपालिका–५ काठमाडौँमा विद्युत लाइन सर्ट हुँदा करेन्ट लागेको घटनाका विषयमा छानविन तथा मुचुल्का तयार गर्नका लागि जिल्ला प्रशासनको आदेशमा टोली पठाइएको छ । प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईका अनुसार विद्युत् सर्ट हुनुको कारण र भएको क्षतिका बारेमा छानबिन तथा घटनाको यर्थात विवरण बुझ्नका लागि प्रहरी, प्रशासनका कर्मचारीसहितको टोली घटनास्थल पठाइएको हो ।
मङ्गलबार दिउँसो करिब ३।३० बजेको समयमा विद्युत््को भोल्टेजमा आएको गडबढीका कारण विद्युत तार सट भई करेन्ट लागेर चार घाइते हुनुका साथै एक घर र एक गोठमा आगलागी भएको छ । उक्त दुर्घटनामा परी स्थानीय रत्ना विक, पार्वती बोगटी, सरस्वती बोगटी गम्भीर घाइते भएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए । घाइतेमध्ये दुईको दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पताल र एकको जिल्ला अस्पताल सिलगढीमा उपचार भइरहेको छ । विद्युतको तार लस्किएको र सो तार मर्मत गर्न गाउँ पुगेका विद्युत् कर्मचारीले ट्रान्र्फमरबाट डाइरेक्ट लाइन छोडेका कारण उक्त दुर्घटना भएको स्थानीयवासीको आरोप छ ।
यसैगरी आगलागीका कारण स्थानीय चक्र बोगटीको घरमा रहेका लुगाकपडा र खाद्यान्न जलेर नष्ट भएका छन् भने धर्म बोगटीको घर जलेर पूर्णरुपमा नष्ट भएको छ । करेन्ट लागेर घाइते भएकाको अवस्थामा क्रमिकरुपमा सुधार आउन थालेको शैलेश्वरी अस्पताल दिपायलका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले बताए ।
रासस