कञ्चनपुरकी एक युवती भारतमा मृत फेला परेकी छन्। जिल्लाको बेलौरी नगरपालिका–४ रिछाहाका मोली रानाकी २२ वर्षिया श्रीमती भागरती राना भारतको लखीमपुरमा बलात्कार पछि हत्या गरिएको अवस्थामा फेला परेकी हुन्। चैत ६ गते घरदेखि हराएकी महिलाको १० गते साँझ मृत्युको खबर सुनिएको उनका श्रीमान् मोली रानाले बताए। भारतीय प्रहरीले शव जबरजस्ती बुझ्न लगाएको उनले दुखेसो पोखे। श्रीमतीले लगाएको गरगहना समेत हत्याराले लुटेको उनले बताए।
श्रीमती हराएको बारे ८ गते इलाका प्रहरी कार्यालय बेलौरीमा उनले निवेदन दर्ता गराएका थिए। अनुसन्धानका क्रममा भारत लखीमपुरका अन्दाजी ३० वर्षीय विक्रम कुमारलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। भारतीय नागरिक विक्रम कुमार र मृतक भागरतीको केही समय पहिले देखि नै सम्पर्क रहेको बुझिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक एवं डिएसपी अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए। उनले ती भारतीय नागरिक सँग विवाहका लागी भन्दै कञ्चनपुर बाट नै भागेर गएको बुझ्नमा आएको बताएका छन्। तर घटना भारतमा घटेकाले थप बुझ्न बाँकी रहेको डिएसपी थापा क्षेत्रीले बताए।
तर युवतीका परिवारले भने उनको हत्या नै गरिएको आशङ्का गरेका छन्। मृतकका श्रीमान् मोली रानाले भारतीय नागरिकले अपहरण गरी श्रीमतीको बलात्कार पछि हत्या गरेको आशङ्का व्यक्त गरे। उनले घटनाको सत्य तथ्य छानबिन गरी दोषी उपर कारबाही माग गरेका छन्। भारतीय नागरिक विक्रम कुमारले श्रीमतीको गरगहना लुट्न बलात्कार पछि हत्या गरेको हुन सक्ने उनले आसंका गरे। उनले भने –“श्रीमतीले तिलहरी, जन्तर,नाक र कानमा फुली गरी दुई ÷ तीन तोला सम्म गहना लगाएकी थिइन सबै लुटिएको छ।