गृहमन्त्री रामबहादुर थापा बादलले टीकापुर घटनाको दोषी ठहर भई सजाय भुक्ता गरिरहेका रेशम चौधरीको रिहाइका लागि वार्ता टोली बनाएर आउन आग्रह गरेका छन्। चौधरीको रिहाइको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा बसेको थारु कल्याणकारिणी सभाको अगुवाइकोे धर्नामा पुगेका गृहमन्त्री बादलले चौधरीको रिहाइबारे छलफल गर्न वार्ता टोली बनाएर आउन आग्रह आग्रह गरेका हुन्। उनले चौधरीको रिहाइबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गरेर मन्त्रिपरिषद्मा लैजाने आश्वासनसमेत दिएका छन्।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एक एसएसपीसहित सात जना सुरक्षाकर्मी र एक बालकको ज्यान जाने गरी भएको घटनामा चौधरीलाई दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले सुनाएको जन्मकैदको सजायलाई उच्च अदालतल दिपायलले पनि सदर गरेको छ। अदालतको सो फैसलाअनुसार उनी हाल डिल्लीबजार कारागारमा सजाय भुक्तान गरिरहेका छन्। उनी कैलालीबाट प्रतिनिधि सभामा निर्वाचित सांसद पनि हुन्। तर, उनको पद निलम्बन अवस्थामा छ। उनी आवद्ध दल जनता समाजवादी पार्टी नेपालले उनको रिहाइको माग गर्दै आएको छ। आइतबारदेखि मण्डलामा उनको रिहाइको माग गरेर धर्ना दिइएको छ।

प्रतिक्रिया दिनुस