बैतडीका स्थानीय तहहरुमा सञ्चालन हुने भनिएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता स्थगित भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै यहाँका स्थानीय तहहरुले उक्त प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको जनाएका छन् ।जिल्ला सदरमुकाममा रहेको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकाले आज सूचना जारी गर्दै उक्त प्रतियोगिता स्थगित भएको जनाएका हुन् ।

जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकको निर्णयले छिमेकी मुलुक भारतमा कोभिड १९ को दोस्रो चरण फैलिसकेकोले त्यसको पनि प्रभाव नेपालमा पनि पर्ने सम्भावना रहेकोले कुनै पनि भिडभाड हुने कुनै पनि क्रियाकलाप नगर्न भनेकोले प्रतियोगिता स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ । यसअघि प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले संक्रमण फैलनसक्ने भन्दै सतर्कता अपनाउनका लागि १० बुँदे आदेश जारी गरेका थिए ।

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकामा चैत १८ गतेदेखि,मेलौली नगरपालिकामा चैत २१ गतेदेखि सञ्चालन हुने तय भएको थियो ।
जिल्ला खेलकुद विकास समितिले यसअघि जिल्लाका स्थानीय तहहरुलाई चैत २५ गतेभित्र उक्त प्रतियोगिता सम्पन्न गरिसक्नुपर्ने भन्दै पत्राचार गरेको थियो । सोही अनुसार यहाँका स्थानीय तहहरुले प्रतियोगिताको मिति तय गरेका थिए ।\

 

प्रतिक्रिया दिनुस