विभिन्न माग राखेर आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच आज पहिलो चरणको वार्ता सकिएको छ। आजको वार्ता सकारात्मक रहेको र अर्को वार्ता बिहीवार पुनः बस्ने छलफल भएको थारु कल्याणकारिणी सभा (थाकस) का महामन्त्री प्रेमीलाल चौधरीले जानकारी दिए। महामन्त्री चौधरीका अनुसार यसअघि संघर्ष समितिले अघि सारेको १९ बुँदे मागमा केन्द्रित भएर सरकारी वार्ता टोलीसँग छलफल भएको जानकारी दिए।

सरकारका वार्ताटोली सदस्यले मागपत्र बारे आज र भोलि अध्ययन गर्ने र पर्सि पुनः वार्तामा बस्ने छलफल भएको उहाँले जानकारी दिए। गृह मन्त्रालयमा आज दिउँसो दुई पक्षबीच वार्ता भएको हो। थारु कल्याणकारिणी सभा (थाकस) का केन्द्रीय अध्यक्ष धनीराम चौधरीको नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिले आज मंगलबार बिहान पाँच सदस्यीय बार्ता टोली गठन गरेपछि सरकारसँग वार्ता भएको हो। सरकारले सोमबार नै गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा तीन सदस्यीय वार्ताटोली गठन गरेको थियो।

सरकारी बार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र एमाले केन्द्रीय सदस्य भगवती चौधरी सदस्य रहनुभएको छ। थाकसद्वारा गठित वार्ता टोलीको संयोजकमा पूर्व सांसद रुक्मिणी चौधरी रहनुभएको छ। वार्ता टोलीका सदस्यमा महामन्त्री प्रेमीलाल चौधरी, सांसद एवम् नेपाली काँग्रेसका नेता पद्मनारायण चौधरी, थाकस केन्द्रीय सदस्य प्रभातकुमार चौधरी र थारु विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरी रहनुभएको छ।

प्रतिक्रिया दिनुस