कैलालीको गोदावरी नगरपालिकामा आजदेखि हात्तीपाईलेको औषधी सेवन अभियान सुरु भएको छ। कैलालीमा ९ औं चरणको औषधी खुवाउने कार्यक्रम अन्तरगत गोदावरीमा पनि औषधी खुवाउन सुरु गरिएको हो। गोदावरीमा हात्तीपाईलेको औषधी सेवन अभियान नगरपालिकाकी कार्यपालिका सदस्य ईश्वरा आचार्यले औषधी सेवन गरेर सुरु गरेकी थिईन । गोदावरीका १२ वटै वडाका ९१ हजार ६ सय ३९ जनालाई हात्तीपाइले औषधी खुवाउने लक्ष्य राखिएको छ ।

जसका लागि १०५ जना महिला स्वास्थ्य स्वयम सेविका र ८० जना स्वास्थ्यकर्मीहरु परिचालन गरेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिर बहादुर कुबँरले बताए ।सुदूरपश्चिमका ८ वटा जिल्लाहरुमा हात्तीपाइले रोग निवारण भए पनि कैलालीमा भने अहिले सम्म पनि निवारण हुन नसकेकाले ९ औं चरणको हात्तीपाइले बिरुद्धको आम औषधी खुवाईने अभियान सुरु गरिएको छ । १० दिन सम्म सञ्चालन हुने यस अभियानमा जिल्लामा ८ लाख ४१ हजार २ सय १ जनालाई हात्तीपाइले औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । यो औषधी खाली पेटमा सेवन गरेमा कसै कसैलाई वाक वाकी लाग्ने, बान्ता हुने, रिगटा लाग्ने भएकाले खाना खाएर औषधीको सेवन गर्नु पर्ने स्वस्थ्यकर्मिले बताएका छन ।

दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु ,गर्भवती र सात दिन सम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरु कुनै कडा रोग लागि औषधि सेवन गरिरहेकाहरु, जस्तै क्यान्सर, मुटु रोगी, कलेजो रोगी, फोक्सोको दीर्घ रोगी , छारे रोगीहरु, २४ घण्टाभित्र ज्वरो आएको तथा कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकाहरुले यो औषधि सेवन गर्नु नहुने बताईएको छ ।

यस्तै हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत आजदेखि देशका १२ जिल्लामा औषधि सेवन कार्यक्रम सञ्चालन सुरु गरीएको छ। हात्तीपाइलेका बिरामीहरु देखिएका झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा आजदेखि औषधि वितरण गर्न लागिएको हो।

पालिकाहरूमा आफूलाई पायक पर्ने स्वास्थ्य संस्था बुथबाट औषधि निःशुल्क लिन सकिन्छ। तर, दुई बर्षमुनिका बालबालिका, गर्भवती, सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरूले भने यो औषधि सेवन नगर्न चिकित्सकहरूको सुझाव छ। यस्तै, यो औषधि खाली पेटमा नखान, खाइसकेपछि हुने सामान्य ज्वरो, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, हल्का पेट दुख्नेजस्ता लक्षणलाई सामान्य रूपमा लिन पनि चिकित्सकहरूले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुस