नेकपा एमालेको माधवकुमार नेपाल समूहले संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान सुरु गर्ने भएको छ । नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले संगठन विस्तार र सुदृढीकरण अभियान संचालन गर्ने निर्णय गरेको हो । यो समूहले राष्ट्रिय भेलाबाट पारित भएको राजनीतिक प्रतिवेदनलाई कार्यकर्ता माझ लैजाने भएको छ । बैठकले अध्यक्ष केपी शर्मा ओली नै पार्टी विभाजन गर्न उद्यत रहेको निश्कर्ष निकालेको छ ।
स्थायी कमिटी सदस्य योगेश भट्टराईले बैठकले सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि ओलीले गरेको कारबाहीलाई स्वेच्छाचारी, पार्टीको नवौं महाधिवेशनको विधानविपरीत र पूर्वाग्रही भएको ठहर गर्दै भत्र्सना र निन्दा गरेको जानकारी दिए। एमाले अध्यक्ष ओलीले बिहीबार नेताद्वय भुसाल र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिना निलम्बन गर्ने निर्णय गर्नुभएको थियो ।
यसअघि संस्थापन पक्षले चैत १६ गते वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि पार्टीबाट निलम्बन गर्नुभएको थियो । नेपाल समूहले एमाले पुनर्जिवित गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न पार्टी अध्यक्ष ओलीलाई आग्रह गर्दै पार्टी एकता रक्षा गर्न र यसको पक्षमा जनमत निर्माण गर्न देशभरका कार्यकर्तालाई अपील गरेको छ ।