नेपाली काँग्रेसले क्रियाशील सदस्यस्ता नवीकरणको म्याद थप गरेको छ। यसअघि चैत १० गतेलाई अन्तिम म्याद तोकेकोमा समयसीमामा काम हुन नसकेपछि समयअवधि बढाइएको हो।
शुक्रवार काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले नयाँ म्याद तोकेको हो। नयाँ तोकिएको म्याद अनुसार अब सभापति शेरबहादुर देउवालाई अन्तिम सूची जेठ १७ भित्र बुझाउन भनिएको छ। नेपाली काँग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिद्वारा प्रस्तुत क्रियाशील सदस्यता सम्बन्धी प्रस्तावित सुझावसहितको संशोधित कार्यतालिका यस्तो रहेको छ :
(१) एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यता र एक वा एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको क्रियाशील सदस्यता नवीकरणको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने अवधि—२०७७ चैत्र ३० गतेभित्र।
(२) एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यताको सूची प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले प्रकाशित गरी जिल्ला कार्यसमितिमा र केन्द्रमा पठाउने अवधि— २०७७ चैत्र ३० गतेभित्र।
(घ) नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा परेका उजुरी उपर छानविन गरी निर्णय गर्ने र निर्णय अनुसारको सूची प्रकाशित गरी केन्द्रमा पठाउनु पर्ने अवधि— २०७८ वैशाख १० गतेभित्र।
(ङ) नयाँ क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा क्रियाशील सदस्यता नवीकरण सम्बन्धी परेका उजुरी उपर अन्तिम निर्णय गरी क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि— २०७८ जेठ १७ गते भित्र।