बैतडीको शिगास गाउँपालिकाका विभिन्न विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षकहरुले आन्दोलन चर्काउने चेतवानी दिएका छन् । गएको साउनदेखि अहिलेसम्म आफूहरुले तलब नपाएकाले आन्दोलनमा उत्रिन बाध्य भएको स्वंयसेवक शिक्षक संघर्ष समितिका अध्यक्ष लक्ष्मी शाह चन्दले जानकारी दिइन् ।

उनले भनिन् ‘हामीले लामो समयदेखि हाम्रो समस्या समाधानका लागि आग्रह गरिरहेका छौं । तर पनि गाउँपालिकाले वास्ता गरेको छैन् ।’तलब भुक्तानीका लागि पटक पटक आग्रह गर्दा समेत बेवास्ता गरेको संघर्ष समितिले जनाएको छ । आफूहरुको तलब निकासा नगरे चैत २९ गतेदेखि विद्यालय नजाने, बार्षिक परीक्षा सञ्चालन हुन नदिने लगायतका आन्दोलनका कार्यक्रम अघि सारेको चन्दले बताइन् ।

यस्तै गाउँपालिकाले स्वयंसेवक शिक्षकहरुसंग कुनै सल्लाह नै नगरी कार्यविधि परिवर्तन गरेकाले सो कार्यविधि सच्याउन पनि शिक्षकहरुले माग गरेका छन् । कार्यविधि सच्याएर आफूहरुलाई पूर्ववत रुपमै स्वयंसेवक शिक्षकको रुपमा राख्न समेत उनीहरुले आग्रह गरेका छन् । शिगास गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयहरुमा १९१ जना निजी स्रोतका शिक्षकहरु कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुस