बैतडीमा भारतबाट फर्केका आठजनामा कोरोना पुष्टि भएको छ। भारतका विभिन्न ठाउँबाट फर्केका नागरिकको झुलाघाट नाकामा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो। भारतबाट फर्किएका ३९ जनाका एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको हो।
पुष्टि भएका ८ जना मध्ये ७ जना दशरथचन्द नगरपालिकाका छन् भने १ जना दोगडाकेदारका रहेका छन्। संक्रमित आठै जना होम आइसोलेसनमा बसीरहेका स्वास्थ्य कार्यालयले जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत माघ २५ गतेदेखि भारतसंग जोडिएको बैतडीको सीमा नाका झुलाघाटमा हेल्थ डेस्क सञ्चालनमा आएको छ। सीमा नाका खुल्ला भएसंगै सीमा क्षेत्रबाट आवतजावत गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्नका लागि हेल्थ डेस्क सञ्चालन गरिएको हो।
सदरमुकाममा आइसोलेसन सेन्टर बनाइने
भारतबाट फर्केका नेपाली नागरिकमा कोरोना संक्रमण देखिन थालेपछि बैतडी सदरमुकाममा आइसोलेसन सेन्टर बनाइने भएको छ । जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले कोरोना संक्रमितहरुको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर बनाउने भएको हो । जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्रले विरेन्द्र मावि शाहीलेकको खाली रहेको छात्रावास भवनमा आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
भारतसंग सीमा जाडिएको झुलाघाट नाका हुँदै स्वदेश फर्केका नागरिकमा कोरोनाको संक्रमण देखिन थालेकाले उनीहरुको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने निर्णय भएको हो । यस्तै झुलाघाट नाकाबाट भित्रिएका नागरिक मध्ये कसैमा कोरोना देखिएमा जिल्लाको हकमा सम्बन्धित पालिकामा पठाउने निर्णय भएको छ भने बाहिरी जिल्लाका भए दशरथचन्द नगरपालिकाले नै व्यवस्थापन गर्ने निर्णय भएको छ ।
कोरोना भाईरस संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन पनि स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । साबुनपानीले हात धुने, मास्कको प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने लगायतका कुराहरुमा ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । यस्तै सरकारले कोरोना संक्रमणबाट बच्नको लागि २५ जनाभन्दा भिडभाड हुने खालका क्रियाकलाप नगर्न अनुरोध समेत गरेको छ । भारतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै सीमानाकामा समेत उच्च सतर्कता अपनाइएको छ ।