नेकपा एमालेका माधव नेपाल र झलनाथ खनाल समूहका नेता भीम रावलले आफूमाथि गरिएको कार्वाही अवैध भएको बताएका छन्। आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले आफुमाथी प्रधानमन्त्री ओलीले गरेको कारबाही अवैध भएको बताएका हुन्।

ओलीले रावललाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन्। ‘नवौं महाधिवेशनको निर्देशनविपरीत, विधानविपरीत काम गर्ने ओली आफैँ अवैध हुन्, अवैध मान्छेले गरेको कारबाही वैध हुँदैन,’ उनले भने।

रावलले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीले आफ्नो गुटमा तान्न जनप्रतिनिधिलाई धम्क्याउन थालेको समेत आरोप लगाए। ‘प्रधानमन्त्रीले वडा, पालिका र विभिन्न पदमा निर्वाचित जनप्रतिनिधिहरूलाई गुटमा तान्ने प्रयास गर्दैछन्। प्रधानमन्त्रीले धम्क्याउने र तर्साउने क्रियाकलाप गर्नु निन्दनीय छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले जनप्रतिनिधिलाई धम्क्याएको वा तर्साएको भन्नेबारे उनले नाम भने खुलाएनन्। निर्वाचित प्रतिनिधिको पद प्रधानमन्त्रीले धम्क्याउँदैमा नजाने उनको भनाइ थियो। उनले भने, ‘पद जाने अवस्था भनेको या त पार्टी छोडेको हुनुपर्यो या देशको हितविपरीत कार्य गरेको ठहर हुनुपर्यो। नेकपा एमालैमा रहेर कानुनबमोजिम काम गरिरहनुभएकै छ भने कसरी पद जान्छ?’

प्रतिक्रिया दिनुस