सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले मुलुकमा कोरोना भाइरसको संक्रमण दिनानुदिन फैलिँदै गएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
आइतबार विद्यार्थी सङ्गठनहरूले विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरूमा संक्रमण पुष्टि भएको भन्ने अपुष्ट धारणा राख्दै प्रेस विज्ञप्ति जारी गरेको प्रति विश्वविद्यालयले सतर्क रहन आग्रह गरेको हो।
विश्वविद्यालयका सहप्रशासक गोविन्द बल्भ पन्तले प्राध्यापक र विद्यार्थीहरूमा कोरोना पुष्टि भएको भन्नेमा आधिकारिकता नभएको बताए। तर महामारी फैलिँदै गएकाले सतर्क रहन उनले सबैमा आग्रह समेत गरे।
आइतबार नेपाल विद्यार्थी सङ्घ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका लोचन सिह कार्की, अनेरास्वीयुका अध्यक्ष रोहित गजुरेल, अखिल (क्रान्तिकारी) का अध्यक्ष गणेश राज मिश्र, अखिल (क्रान्तिकारी)का अध्यक्ष नागेन्द्र जोशी, अखिल (छैठौ) का अध्यक्ष दीपेन्द्र कार्की, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनका अध्यक्ष संकर बोहराद्वारा संयुक्त रूपमा हस्ताक्षरित विज्ञप्तिमा सुपका प्राध्यापक र विद्यार्थीहरूमा कोरोना पुष्टि भइसकेको र अन्य अध्ययनरत विद्यार्थीहरूमा यसका लक्षण देखीनथालेकाले यस परिस्थितिलाई गम्भीर रूपमा लिन आग्रह गरिएको छ।
विज्ञप्तिमा वैकल्पिक सिकाइका प्रभावकारी उपायहरूको अवलम्बन गरिन माग समेत गरिएको छ।
सहप्रशासक पन्तले यस विषयलाई गम्भीरताका साथ लिइएको बताएका छन्। उनले भने,–‘तत्कालै विश्वविद्यालय बन्द गर्ने विषयमा भने कुनै निर्णय लिइएको छैन, कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफलमा छौँ।’
के अनलाइन कक्षा होला त सुचारु ? भन्ने प्रस्नमा उनले तत्कालै भन्न सकिने अवस्था नरहेको बताए। उनले भने,–‘अनलाइन भर्चुअल पठनपाठन अवस्था हेरेर मात्रै सुचारु गरिने छ।’
प्रतिक्रिया दिनुस