महेन्द्रनगर ८, बैसाख–जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विश्वव्यापी रूपमा कोभिड –१९ को संक्रमण बढ्दै गइरहेको भन्दै जिल्लामा आंशिक निषेधाज्ञा जारी गरेको छ। मंगलबार प्रशासनले सूचना जारी गर्दे बुधवारदेखि अर्को व्यवस्था नभएसम्मका लागी भेला, जमघट नगर्न तथा स्वास्थ्य सुरक्षा सामाग्रीको पूर्ण पालना गर्न अनुरोध गरेको हो।

जिल्लाको भीमदत्तनगरपालिका स्थित शैक्षिक संस्था वैशाख मसान्त सम्म भौतिक रूपमा उपस्थीत नभई भर्चुअल वा वैकल्पिक शिक्षण शिकाइका विधिहरू अपनाउन सूचित गरेको छ। तर अन्य स्थानियतहले भने सङ्क्रमणको अवस्था ख्याल गरी आवश्यक व्यवस्था गर्न निर्देशन दिइएको छ।

त्यस्तै विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्डका पालना गरी सञ्चालन गर्ने, सिनेमा हल, पार्टी प्यालेस , डान्स वार, दोहरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, सभा–आम सभा लगायत भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम वैशाख मसान्त सम्म गर्न नपाइने सूचनामा उल्लेख छ।

धार्मिक स्थलहरूमा स्वास्थ्यको मापदण्ड पालना, एक पटकमा २५ जना भन्दा बढी जमघट हुन नहुने, व्यक्तिको बिचमा २ मिटरको दुरी कायम हुनुपर्ने, विवाह, व्रतका लागी पार्टी प्यालेस प्रयोग गर्नुपरेमा प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिई २५ जना भन्दा बढी बढ्न नदिने नियम लागु गरिएको छ।

त्यस्तै यातायातमा सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, यात्रुहरूले स्वास्थ्य सूरक्षा सामाग्रीको प्रयोग अनिवार्य गर्ने, मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश निषेध गर्ने लगायतका मापदण्ड अपनाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनुरोध गरेको हो।

त्यस्तै होटेल तथा रेस्टुरेन्टमा अनिवार्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म मात्रै खोल्न पाइने प्रशासनले जनाएको छ। सार्वजनिक तथा निजी सेवा प्रदायकले सम्भव भए विद्युतीय सेवा प्रदान गर्ने व्यवस्था मिलाउने, स्थानियतहमा द्रुत प्रतिकार्य समूह गठन गरी तयारी अवस्थामा राख्ने, ६० बर्समाथिका नागरिक, दिर्घरोगी भएका व्यक्तिलाई घर भन्दा बाहिर जान नदिने जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।

उल्लेखित प्रावधानको अवेज्ञा गर्ने वा कार्यान्वयनमा बाधा पु¥याउने व्यक्ति वा संस्थालाई सङ्क्रामक रोग ऐन २०२० बमोजिम कारबाही र सजाय हुने प्रशासनले चेतावनी दिएको छ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुस