महेन्द्रनगर ८, फागुन–सुदूरपश्चिमको पहिलो पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने गरी कार्य अगाडी बढाइएको कञ्चनपुर दोस्रो पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ। बुधवार महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेधीले एक कार्यक्रमका बिच कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरे।

नौ पालिका रहेका कञ्चनपुरमा ८ पालिकालाई यस अघि चैत्र मसान्त सम्म पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो। तर भीमदत्तनगरपालिकाले केही ढिलाइ गरिदिँदा जिल्लालाई सुदूरपश्चिमको पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्न नपाइएको जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङले बताए। उनले भने,–‘कञ्चनपुरलाई सुदूरपश्चिमकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने गरी तयारी अगाडी बढाएका थियौ, तर भीमदत्त बाधक बन्यो।’

कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री सुवेधीले पूर्ण खोप सुनिश्चित अभियानमा सहयोग पु¥याउने जिल्लाका सम्पूर्ण महिला स्वंयम सेविकालाई धन्यवाद ज्ञापन गरे। उनले स्वंयमसेविकाहरुका लागी सरकारले निःशुल्क रूपमा स्वास्थ्य बिमाको व्यवस्था गरेको बताए।

‘स्थानीय स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ जिल्ला भित्र रहेका ९ वटै पालिकामा रहेका ११ हजार २ सय ७८ जना बालबालिकालाई दिनु पर्ने सबै खोप दिइएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए।

१६ देखी २३ महिनाका सबै बालबालिकाहरूलाई १५ महिना उमेर भित्र पाउनुपर्ने सबै १२ प्रकारका खोपहरू प्राप्त गरेकाले जिल्ला लाई बुधवार सुदूरपश्चिममा दोस्रो पूर्ण खोप जिल्ला घोषणा गरिएको उनले बताए। एक खोप नेपालसम्म आइपुग्न १२ हजार  सम्म खर्च लाग्ने भएको भए पनि सरकारले निःशुल्क रूपमा वितरण गरिनु बालबालिकालाई बचाउने उद्देश्य रहेको उनले बताए।

कार्यक्रममा पूर्ण खोप घोषणा गर्नमा अहम् भूमिका खेलेकोमा कञ्चनपुरका नौ वटै पालिकालाई प्रमाण पत्र वितरण गरिएको थियो। वडा, पालिका र जिल्ला पूर्ण खोप सुनिश्चितता दिगोपनाको लागि कञ्चनपुरका नौ वटै स्थानियतहका प्रतिनिधिले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे।

बिहीबार जिल्लाको डडेल्धुरा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने तयारी रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. अवस्थीले जानकारी दिए। सुदूरपश्चिमको डोटी यस अघि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको थियो।

सुदूरपश्चिमका सबै जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरी यसै वैशाख २० या २५ गते सम्म सुदूरपश्चिमलाई नै पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिने स्वास्थ्य निर्देशनालयका निर्देशक डा. अवस्थीले जानकारी दिए।

प्रतिक्रिया दिनुस