भातमा किटनाषक औषधी खुवाएर आफ्नै श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ साबिक मूलपानी गाविस–२ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–४ मा डेरा गरी बस्ने २९ वर्षीय पार्वती थापामगर छिन्। उनलाई प्रहरीले बुधबार उनकै कोठाबाट पक्राउ गरेको हो।

मगरले आफ्नै श्रीमान विष्णु थापामगरको हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। घटना २०७२ सालको हो। उनीहरू सूर्यविनायक–४ मा डेरा गरी बस्थे। परिसर प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाका अनुसार विष्णु वैदेशिक रोजगारीबाट २०७२ माघ २७ गते फर्केका थिए। भोलिपल्ट पार्वतीले छोराछोरीलाई स्कुल पठाएपछि श्रीमानका लागि छुट्टै भान्सा तयार गरेकी थिइन्। बिहान ९ः३० बजे दाल, अण्डा करी, खाना खाएपछि विष्णुलाई उकुसमुकुस भयो।

उनैले तत्काल उपचारका लागि मध्यपुर अस्पताल लगिन्। विष्णुको उपचारको क्रममा त्यही दिन मध्यान्ह १२ बजे मृत्यु भएको थियो। श्रीमानको मृत्युपछि पार्वती आफैंले प्रहरीमा जाहेरी दिएकी थिइन्। यसपछि प्रहरीले अनुसन्धान थाल्यो। घटनास्थलबाट दाल, अण्डाकरी, खाना उठायो। मृतकको भिसेरासमेत संकलन गरेर प्रयोगशाला पठायो। ती नमूनामा किटनाषक विषादी फेला परेको रिपोर्ट आयो। ‘यो रिपोर्ट आउनुअघि नै उनी विदेश भागिसकेकी थिइन्,’ थापाले भनिन्। पार्वती विदेशमै रहँदा २०७४ साल पुस २७ गते विष्णुका भाइ लोकबहादुर थापामगरले उनीविरूद्ध कर्तव्य ज्यानमुद्दामा जाहेरी दिएका थिए।

पार्वती दुई महिनाअघि नेपाल फर्केकी थिइन्। उनलाई खोजी गरिरहेको प्रहरीले बुधबार पक्राउ गरेको थापाले बताइन्। उनी जोर्डन गएकी थिइन्। प्रहरी उपरीक्षक थापाका अनुसार पार्वतीको अन्य पुरूषसँग सम्बन्ध थियो। त्यो कुरा खुल्ने डरले उनले श्रीमान विदेशबाट आएकै भोलिपल्ट खानामा किटनाषक विषादी हालेर दिइन्। उनलाई अहिले कर्तव्य ज्यानमुद्दामा हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थापाले बताइन्।

प्रतिक्रिया दिनुस