कैलाली र बझाङका एक–एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। धनगढीमा रहेको अस्थायी कोरोना अस्पतालमा उपचाररत गोदावरी ३ का ६२ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार क्षेष्ठले बताए।
वैशाख ८ गते अस्पताल भर्ना भएका उनीमा ९ गते कोरोना पुष्टि भएको थियो। आइसियुमा राखेर उपचार भइरहेका उनको आइतबार बिहान उपचारकै क्रममा मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए। उनमा कडा खालको स्वासप्रस्वासको समस्या देखिएको थियो।
त्यस्तै बझाङको थलारा गाउँपालिका–४ घर भएका एक जना पुरुषको भारतमा कोरोनाका कारण ज्यान गएको छ। ज्यान जानेमा थलारा– ४ ठिङका ३९ वर्षीय प्रेम डौडे रहेका छन्। उनलाई वैशाख ८ गते कोरोना संक्रमण देखिएको र वैशाख ११ गते उनको मृत्यु भएको परिवार स्रोतलाई उदृत गर्दै भारतबाट भरत थापाले बताए।
भारतमा कोरोना संक्रमणले भयानक रुप लिएकाले मृत्युदर बढेको र डौडे शव जलाउन नपाएको थापाको भनाइ छ। डौडेसँग उनका छोरा भए पनि अन्यले साथ नदिएको बताइएको छ। उनी लामो समयदेखि भारतको आन्द्रामा काम गर्दै आएका थिए।