१२ वैशाख, महेन्द्रनगर कोरोनाको जोखिमले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा सञ्चालन रोक्न माग गर्दै विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका छन्। कोरोना महामारी संक्रमणमा विश्वविद्यालयले जबरजस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै विद्यार्थी संगठनले केन्द्रीय कार्यालय सहित परीक्षा नियन्त्रकको कार्यालय र सबै विभागका कार्यकक्षमा तालाबन्दी गरेका हुन्।
विश्वविद्यालयका पदाधिकारीसित पटक पटक गरिएका छलफल सार्थक नभएपछि आन्दोलनमा उत्रिएको बिधार्थी नेताहरुले बताए। ६ वटा विद्यार्थी संगठनले शनिबार विज्ञप्ति प्रकाशित गरी विश्वविद्यालयले तत्काललाई कोरोना महामारीमा परीक्षा सञ्चालन कार्य रोक्न माग गरेका छन् । विश्वविद्यालयले बैशाख १६ गतेदेखि परीक्षा सञ्चालनको तयारी गरेको छ । विद्यार्थीले कोरोना महामारीमा परीक्षा सञ्चालन गर्न स्वास्थ्य जोखिम हुने भन्दै रोक्न माग गरेका छन् ।