भुवन भट्ट १२ वैशाख, महेन्द्रनगर– दार्चुलामा प्रशासनिक भवन सार्ने निर्णयको गाउँपालिकाकी उपाध्यक्षले नै विरोध जनाएकी छन्। जिल्लाको मालिकार्जुन गाउँपालिकाले कार्यपालिका बैठकबाट गरेको केन्द्र सार्ने निर्णयमा उपाध्यक्षले नै विरोध जनाएकी हुन्। उपाध्यक्ष पुष्पा अवस्थीले आफूलाई कुनै जानकारी नगराई कार्यपालिका बैठक डाँकी गाउँपालिकाको केन्द्र अपायक पर्ने स्थानमा सार्ने गरिएको निर्णय अनुचित भएको बताइन्।

२०६२⁄०६३ को जनआन्दोलनपछि हाल मालिकार्जुनको नामले चिनिनिले उक्त क्षेत्रको केन्द्र शंकरपुर तोकिएको थियो। वि.स २०७३ फागुनमा नेपाल राजपत्रमा सहित मालिकार्जुनको केन्द्र भौगोलिक हिसाबले पनि शंकरपुर रहने लेखिएको छ। यसै निर्णयलाई टेकी शंकरपुर बजारमा कार्यालय स्थापना भई कामकाज भइरहेको उपाध्यक्ष अवस्थीले जानकारी दिइन्। त्यस्तै २०७५ असार २४ गते बसेको तेस्रो गाउँसभामा समेत शंकरपुर नै गाउँपालिकाको प्रशासनिक भवन रहेको छ। तर २०७७ माघ २२ गते बसेको कार्यपालिका बैठकले भने गाउँपालिकाको केन्द्र शंकरपुर नभई थक्तोली रक्सेखालीमा बनाउने निर्णय गरेको हो।

उपाध्यक्ष अवस्थीले बैठकको जानकारी समेत नराइ अध्यक्षले एकलौटी ढङ्गले प्रशासनिक भवन सार्ने निर्णय आम जनताको हितकर नभएको बताएकी छन्। शनिवार उपाध्यक्ष अवस्थी सहितकाले महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दे त्यस ठाउँको पुख्र्याैली इतिहास समाप्त पार्ने उद्देश्यले गलत नियतले जनतालाई दुःख दिने, भिडन्त गराउने उद्देश्यले जनताको चाहना विपरीत नेपाल राजपत्रमा उल्लेखित भएको ठाउँको विपरीत, तेस्रो गाउँ सभाको निर्णय विपरीत केन्द्र सार्ने निर्णय अनुचित भएको बताइन्। उनले उक्त निर्णयमा आफ्नो उपस्थिति समेत नरहेको र उक्त अनुचित निर्णय सच्याइनुपर्ने बताएकी छन्।

उनले भनिन्–‘४ वर्षसम्म प्रशासकीय भवन सम्बन्धी निर्णय गरेर भवनको प्रक्रिया अगाडी बढाऔँ भनी पटक पटक सो कुरा गाउँकार्यपालिकाको बैठकमा उठाउँदा समेत वास्ता नगरी अन्तिम वर्षमा आएर जनतालाई दुःख दिने नियतले निर्णय भएकाले सो निर्णयको विरुद्धमा म आफू स्वयं, उपाध्यक्ष भएको हैसियतले जनतालाई भविष्यमा गएर दुःख नहोस् भन्ने उद्देश्यले लागिपरेकी छु।’
उक्त निर्णय नसच्याइए हदै सम्मको आन्दोलनमा उत्रने समेत पत्रकार सम्मेलनमार्फत चेतावनी दिइएको छ।

तर गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिंह धामीले भने गाउँपालिकाको केन्द्र सार्न निर्णय पहिलो पटक कार्यपालिका बैठकबाट भएको बताए। उक्त निर्णय जनताको हित, भौगोलिक स्थिति र आधुनिक व्यवस्थाको नजिक भएको समेत उनले दाबी गरे।
उनले भने,–‘कार्यपालिका बैठकको २ दिन पहिले नै उपाध्यक्षलाई जानकारी गराएका हौ, उहाँ बाहिर जान हतपत हुनुहुन्थ्यो बैठक त बस्नै पर्याे।’
गाउँपालिकाले निर्णय गरेको केन्द्र थक्तोली रक्सेखालीमा विपद्को जोखिम कम रहेको, बिजुली, खानेपानी, बैंकको व्यवस्था सहित भौगोलिकताले सम्पन्न रहेको अध्यक्ष धामीले जिकिर गरे।

थक्तोली रक्सेखाली मापदण्ड अनुसार उपयुक्त रहेको भनी सिफारिस गरिएको बताए। उनले भने,–‘ उक्त क्षेत्र मापदण्ड अनुसार उपयुक्त रहेको भनी सिफारिस मात्रै गरेका हौँ, ठेक्का प्रक्रियामा जान, संरचना बनाउने सबै बाँकी नै छ।’

No description available.

No description available.

प्रतिक्रिया दिनुस