कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी सडक स्तरोन्नति गर्ने कार्य अवरुद्ध भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने कालागौंडीदेखि चानदेवसम्मको करिब तीन किलोमिटर सडक निर्माण कार्य अवरुद्ध भएको हो। अहले रहेको सडकमा नै टो–वाल निर्माण गर्ने, माटो भर्ने, ग्याबिन जाली राख्ने, कालोपत्रेका लागि बेस राख्नेलगायतका काम अगाडि बढाउन खोजिएपछि निकुञ्ज कार्यालयले अवरोध गरेको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख दीपक नेगीले बताए। ‘जिल्लाको पुरानो सदरमुकाम बेलौरीमा हुँदा नै करिब ५० वर्षअघि सडक निर्माणको कार्य गरिएको थियो‚’ पूर्वाधार विकास कार्यालयका प्रमुख नेगीले भने, ‘त्यही सडकलाई स्तरोन्नति गरी कालोपत्रे गर्नका लागि बेस बिछ्याइसकेको अवस्थामा निकुञ्ज कार्यालयले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन पेश नगरी काम अघि बढाउन नदिने जानकारी गराएको छ।’निर्माण कार्यको ठेक्का पाएको सन्तोषी थेगिम जेभी निर्माण कम्पनीले पाएको छ।

निकुञ्ज कार्यालयले ठेकेदार कम्पनीलाई काम अघि बढाउन नदिएको कार्यालयका प्रमुख नेगीले बताए। ‘सडकको पुरानै आठ मिटरलाई कायम गरी काम अघि बढाउन निकुञ्ज कार्यालय प्रमुखसँग मौखिक रूपमा सहमति समेत भएको थियो‚’ उनले भने, ‘त्यसमा निकुञ्ज कार्यालय प्रमुखले सहमति समेत दिएका थिए। सडक निर्माण क्षेत्रमा कुनै रूख र बुट्यानसमेत हटाउनु पर्ने अवस्था छैन। वर्षौं पुरानो सडकको स्तरोन्नति गर्न इआइए गर्नुपर्ने अवस्था नहुनु पर्ने हो।’पुरानै सडकको मौजुदा संरचनाको स्तरोन्ति गरेर लैजाँदा अवरोध गर्ने अवस्था नहुनुपर्ने पूर्वाधार विकास कार्यालय कञ्चनपुरका अधिकृत हेमराज भट्टले बताउँछन्। उनले भने, ‘नयाँ संरचना केही बनाइएको छैन। निर्माण कार्य अगाडि बढाइएकै बेला अवरोध गरिएको छ। त्यसो नहुनुपर्ने हो। कुन कारणले रोकिएको छ।’निकुञ्ज कार्यालयका प्रमुख दिलबहादुर पूर्जा मगरले निकुञ्जको कोर एरियामा पर्ने सडक भएकाले इआइए प्रतिवेदन अनिवार्य भएको बताए। ‘कानुनअनुसार इआइए माग गरिएको हो‚’ उनले भने, ‘त्यो नहुँदासम्म निर्माण कार्य अगाडि बढाउन सकिँदैन।’ विभाग र मन्त्रालयबाट लिखित रुपमा सडक निर्माणका लागि अनुमति लिएर आए अवरोध नहुने उनले बताए। यता स्थानीय भने सडक निर्माणमा अवरोध हुँदा दुःख व्यक्त गरेका छन्। ‘वर्षौदेखि अलपत्र रहेको सडक कालोपत्रे हुन थालेपछि खुसी भएका थियौं‚’ कालागौंडीका स्थानीय नवलसिंह रानाले भने, ‘धुलाम्मे, हिलाम्मे र खाल्टाखुल्टी भएको सडक सहज हुन्छ भन्ने सोचेका थियौं।

निकुञ्जले अवरोध गरी सडक निर्माण रोकेपछि निराश भएका छौं। सडक निर्माण तत्काल सुरू हुनुपर्छ। यसका लागि सबै क्षेत्रबाट पहल हुनुपर्छ।’पूर्वाधार विकास कार्यालयले कलुवापुर–बेलौरी सडक निर्माणको कार्य दुई चरणमा कालोपत्रेको कार्य गरिरहेको छ। १८ करोड २० लाख रूपैयाँमा कलुवापुरदेखि चानदेवसम्मको १४ किलोमिटर र चानदेवदेखि नेपाल–भारत सीमा क्षेत्रसम्मको १४ किलोमिटर गरी २८ किलोमिटर सडक कालोपत्रे गर्न सन्तोषी–थेगिम जेभीलाई ठेक्का दिइएको छ। सडक निर्माणका लागि आर्थिक वर्ष २०७२÷७३ मा सडक डिभिजन कार्यालयले ठेक्का सम्झौता गरेको हो। आर्थिक वर्ष २०७६÷७७ मा सुदूरपश्चिम सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयलाई उक्त निर्माणको कार्य हेर्ने जिम्मा दिइएको थियो। सडक निर्माणको कार्य झण्डै ८० प्रतिशत सकिएको छ। निकुञ्ज क्षेत्रमा निर्माण हुने सडकमा अवरोध भएपछि सडक निर्माणको कार्य निर्धारित समयभन्दा पछि धकेलिने भएको छ। जसमा लागत खर्च समेत बढ्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुस