जिल्ला प्रशासन कार्यालय दार्चुलाले बारका आधारमा सेवा प्रवाह गर्ने भएको छ। कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले कार्यालयबाट बारका आधारमा सेवा प्रवाह गर्ने भएको हो। बुधवार एक सूचना जारी गर्दै जिल्लाका ९ वटै स्थानीय तहका सेवाग्राहीलाई अलग–अलग बार तोकेर सेवा दिने जनाएको छ।

कार्यालयमा सेवाग्राहीको भिडभाड बढ्दा कोरोना संक्रमणको जोखिम हुने भन्दै सेवाग्राहीको भिडभाड कम गरी संक्रमण नियन्त्रण गर्न प्रशासनले यस्तो योजना बनाएको हो। कोरोना महामारीको जोखिमबाट बच्न आइतवरदेखि लागू हुने गरी बार अनुसार सेवा प्रवाह गरिने सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टजोशीले जानकारी दिइन्। कार्यालयले नागरिकता, नाबालक परिचयपत्र, नागरिकता प्रतिलिपि, राहदानी, हातहतियार दर्ता नवीकरण, सङ्घसंस्था दर्ता नवीकरण, पत्रपत्रिका दर्ता सम्बन्धी कार्यका लागि बार अनुसार सेवा दिनेछ। कार्यालयले आइतबार र सोमवारमा अपि हिमाल मार्मा र नौगाड गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिने सूचना मार्फत जनाएको छ।

यस्तै मङ्गलवार र बुधवारमा शैल्यशिखर नगरपालिका, मालिकार्जुन र लेकम गाउँपालिकाका सेवाग्राहीलाई र बिहीबार र शुक्रवार महाकाली नगरपालिका, बाँस र दुहूँ गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रदान गर्ने जनाइएको छ। सेवाग्राहीले सेवा लिन आउँदा स्वास्थ्य मापदण्डको अनिवार्य पालन गर्नुपर्ने जनाइएको छ। मास्क, स्यानिटाइजर अनिवार्य रूपमा प्रयोग गरेर मात्रै कार्यालय भित्र प्रवेश गर्न भनेको छ। सेवाग्राही कार्यालय भित्र पसेपछि कार्यालयले तोकेको ठाउँमा बस्नु पर्ने तथा कम्तीमा पनि दुई मिटरको भौतिक दूरी कायम गर्नु पर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुस