कोभिड–१९ बाट बढी प्रभावित हुनेमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु पनि पर्छन्। राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठसहित ५२ जनालाई कोरोना संक्रमण देखिएको छ। पिसिआर परीक्षण गर्दा आफूसहित ५२ कर्मचारीमा संक्रमण देखिएको श्रेष्ठले जानकारी दिए। ‘म एक हप्तादेखि नै होम आइसोलेसनमा छु, स्वास्थ्य अवस्था सामान्य छ’ उनले भने। केही दिनअघि गरिएको परीक्षणमा ५२ जनाको जनाको नतिजा पोजेटिभ आएको हो।
संक्रमितमध्ये केन्द्रीय कार्यालयका मात्रै आधा संख्या रहेको उनले स्पष्ट पारे। ‘पहिले शाखाका कर्मचारीमा संक्रमण देखियो, अहिले केन्द्रीय कार्यालयका कर्मचारीमा देखियो’ उनले भने। कोरोना संक्रमण बढ्दै गएको भन्दै भोलिदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गरिएको छ। यसबीचमा पनि बैंक तथा वित्तीय संस्थाहरुले भने आफ्नो सेवा सुचारु राख्ने भएका छन्। स्वास्थ्यसम्वन्धी मापदण्ड पालना गरेर सेवाहरु सुचारु हुने श्रेष्ठले बताए।
आफ्नो परिचयपत्र देखाएर बैंकका कर्मचारी आवतजावत गर्न पाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। नेपाल राष्ट्र बैंकले स्वास्थ्यसम्वन्धी मापदण्ड पालना गरेर सेवा प्रवाह गर्न निर्देशन दिएको छ। प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपायहरु अवलम्वन गर्न राष्ट्र बैंकले भनेको छ। सेवाग्राहीबीच भौतिक दूरी कायम हुने व्यवस्था मिलाएर सेवा प्रवाह गर्न तथा सेवाग्राहीको आवतजावत सकेसम्म कम हुनेगरी सेवा प्रदान गर्न भनेको छ। सकेसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न गराउन पनि राष्ट्र बैंकले आग्रह गरेको छ। संचालित एटिएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरणका लागि ढोका खुला राखी सेनिटाइजर तथा टिस्यु पेपरको व्यवस्था गर्न भनिएको छ।