नयाँ सरकार गठनमा एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष मौन बस्ने भएको छ। नेपाली कांग्रेस–माओवादी केन्द्र नयाँ सरकार बनाउन सक्रिय भए पनि त्यसका लागि बहुमत जुटाउन कठिन हुने देखिएको छ। एमाले आन्तरिक विवादका कारण नेपाल–खनाल पक्षका सांसद सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिँदा अनुपस्थित भएका थिए। ओली एमाले अध्यक्ष पनि हुन्।

ओलीले विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वान भएको छ। नेपाल–खनाल समूहको मंगलबार बसेको स्थायी कमिटी बैठकले नयाँ परिस्थितिको विश्लेषण गर्दै आवश्यकताअनुसार तत्काल निर्णय लिने तर सरकार गठनमा मौन बस्ने निर्णय गरेको छ। ‘स्थायी कमिटी बैठकमा राजनीतिक परिस्थितिको सबै कोणबाट विश्लेषण भयो। मूलतः पार्टी विवाद निरूपणकै विषयमा छलफल भयो। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तर्फबाट २०७५ जेठ २ गतेको बटम लाइनमा टेकेर ठोस प्रस्ताव आए विवाद निरूपण गर्न हामी तयार छौं। यो विषयमा उहाँले ठोस प्रस्ताव ल्याउनु हुनेछ’, नेपाल पक्षीय स्थायी कमिटीका एक सदस्यले भने।

बैठकमा मुलुकमा उत्पन्न नयाँं राजनीतिक परिस्थिति, सरकार गठन प्रक्रिया र संवैधानिक व्यवस्थाबारे पनि छलफल भएको थियो। स्थायी कमिटी सदस्य घनश्याम भुसालले नयाँ सरकार गठनबारे धेरै चासो नभएकाले पार्टी विवादको विषयमा मात्रै छलफल भएको बताए। ‘हामीलाई नयाँ सरकारबारे चासो छैन।

पार्टी विवाद निरूपणमा प्रधानमन्त्रीको भूमिका कस्तो हुन्छ भन्नेमात्रै अहिलेको चासो हो। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई हामीले २०७५ जेठ २ को अवस्थामा फर्किनुस् भनेर पटकपटक भनेका छौं। अहिले पनि हाम्रो अडान त्यही हो’, भुसालले भने। केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले पार्टीको विवाद मिलाउने विषयमा भर्चुअल छलफलहरू भइरहेको बताए। पार्टीलाई कसरी जोगाउन सकिन्छ भन्नेबारेमा छलफल भैरहेको उनले बताए।

प्रतिक्रिया दिनुस