२९ वैशाख, महेन्द्रनगर–बैतडीको पाटन नगरपालिका वडा नम्बर –७ साबिकको कैलपाल गाउँ पञ्चायतका पूर्व प्रधान पञ्च कल्याण दत्त भट्टको देहावसान भएको छ। गए राती ८७ वर्षीय भट्टको अकस्मात् निधन भएको हो। हाल कञ्चनपुर भीमदत्तनगरपालिका गोबरीया बस्दै आएका भट्टको गए राती निधन भएको पारिवारिक स्रोतले जानकारी दिएका छन्।
भट्ट विस २०३४ सालमा सकार गाउँ पञ्चायत वडा नम्बर ६ का वडा अध्यक्षमा निर्वाचित थिए। २०३९ सालदेखि २०४९ सम्म कैलपाल गाउँ पञ्चायतका प्रधान पञ्च भएका उनीले दुई कार्यकाल सम्म प्रधान जिते। ०४७ सालमा पञ्चायती व्यवस्था हटेसँगै उनी प्रधानबाट बाहिरिएका पूर्व गाउँ विकास समितिका उपाध्यक्ष धर्मानन्द भट्टले जानकारी दिए।
उनले भने,–‘प्रधान पञ्च रहँदा निःस्वार्थ भावनाले सेवा निर्वाह गरेका उनले समाजमा आम नागरिकलाई सहज सेवा प्रवाह गर्दथे।’ मंगलबार राती उनको मृत्यु भएको पूर्व गाविस उपाध्यक्ष भट्टले जानकारी दिए। उनको बुधवार (आज) बिहान भुजेलाघाटमा दाहसंस्कार गरिएको छ।