दिल्ली– भारतले बनाएको भनेको कोरोना भाइरसविरुद्धको औषधि रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री हर्ष बर्द्धनले सार्वजनिक गरेका छन्। उनीहरुले संयुक्त रुपमा सोमबार २– डिजी नामको औषधि सार्वजनिक गरेका हुन्। रक्षामन्त्री सिंहले २–डिजी औषधि कोरोना संक्रमित विरामीका लागि प्रभावकारी सिद्ध हुने विश्वास व्यक्त गर्दै यो भारतको विज्ञताको उदाहरण भएको बताए। यो औषधि भारतमा कोरोनाका बिरामीको लागि पहिलो भएको दाबी गरिएको छ।
भारतीय रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) का अनुसार भारतको औषधि महानियन्त्रक (डिजीसीआई)ले आपतकालीन प्रयोगका लागि यो औषधिलाई अनुमति दिएको थियो। सामान्य प्रयोगको लागि अनुमति नपाएसम्म यो औषधि बजारमा तत्काल उपलब्ध हुने छैन। यो औषधि डीआरडीओको इन्स्टिच्युट अफ न्यूक्लियर मेडिसिन एण्ड अलायर साइन्सेज(इनमास)ले औषधि बनाउने कम्पनी डाक्टर रेड्डीज लेबोरेट्रीजसँग मिलेर विकसित गरेको हो। यो औषधी धुलोको रुपमा पाइन्छ। जसलाई पानीमा घोलेर संक्रमितलाई पिउन दिइने छ। यो औषधि कोरोना संक्रमितका लागि वैकल्पिक उपचार हुनेछ। सुरुवाती परीक्षणमा यसको प्रयोगले संक्रमितमा अक्सिजनको लेभलमा सुधार हुने पाइएको थियो।
यस्तै, पीसीआर रिपोर्ट चाँडो नेगेटिभ आएको थियो। यो औषधि मानिसको कोषिकासम्म पुगेर संक्रमणलाई फैलन रोक्ने बताइएको छ। मे २०२० मा कोरोना संक्रमितमाथि २–डिजीको दोस्रो चरणको क्लिनिकल ट्रायल शुरु गरेको थियो। अक्टोबर २०२० सम्म चलेको ट्रायलमा २–डिजी सुरक्षित पाइएको थियो। दोस्रो चरणको ट्रायल ए र बी फेजमा गरिएको थियो। यसमा ११० जना संक्रमित सहभागी थिए। फेज २–ए मा ६ अस्पताल थिए भने फेज २–बीमा ११ अस्पतालका संक्रमित सहभागी थिए। त्यसपछि डिसेम्बर २०२० देखि मार्च २०२१ सम्म २२० जना संक्रमितमा तेस्रो चरणको ट्रायल गरिएको थियो।
यो परीक्षण दिल्ली, उत्तरा प्रदेश, पश्चिम बंगाल, गुजरात, राजस्थान, महाराष्ट्र, आन्ध्र प्रदेश, तेलंगाना, कर्नाटक र तमिलनाडुका २७ अस्पतालमा गरिएको थियो। परीक्षणको तेस्रो दिनमा नै संक्रमितको अक्सिजनमाथिको निर्भरता ४२ प्रतिशतबाट घटेर ३१ प्रतिशत भएको थियो। यो औषधिले ६५ वर्षमाथिका बिरामीमा पनि सकारात्मक प्रतिक्रिया दिएको दाबी गरिएको छ।