फाइल।

दार्चुला-दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करका ३६० जनालाई कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट व्यास(१ का नागरिकका लागि प्राप्त खोप लगाइने भएको हो । व्यासको दुवै गाउँका बसाइँसराइ कुञ्चा सरेपछि उनीहरुलाई सोही क्षेत्रमा कोभिडविरुद्धको खोप लगाउने तयारी भएको छाङ्गरु स्वास्थ्यचौकीका इन्चार्ज विक्रमसिंह साहुले जानकारी दिए ।

उनका अनुसार छाङ्गरुमा ३०० तथा तिङ्करका ६० जनालाई खोप लगाइने छ । खोप जिल्ला आइपुगेको भन्दै उहाँले एक÷दुई दिनभित्रै खोप र आवश्यक औषधि लिएर छाङ्गरु र तिङ्कर जाने तयारी भएको बताए । त्यहाँ रहेका स्थानीयवासी, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई समेत कोभिडविरुद्धको खोप लगाइने छ । कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले छाङ्गरु र तिङ्करका लागि आएको खोप तत्काल लगाउने निर्णय गरेको थियो । व्यासका स्थानीयवासी गत वैशाख पहिलो सातादेखि खलङ्गाबाट छाङ्गरुका लागि बसाइँ सरेका थिए ।

व्यासका स्थानीयवासी छ महिना सदरमुकाम खलङ्गामा छाङ्गरु र तिङ्करको जाडो छल्न आउने गर्छन् भने छ महिना खङ्लगाको गर्मी छल्न माथि उक्लिने गर्छन् । व्यासको भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर सरकारले नक्सा सार्वजनिक गरेपछि यो क्षेत्रमा विशेष प्राथमिकता दिँदै आएको छ । यस क्षेत्रमा विशेष कार्ययोजना बनाएर सरकारले कार्यक्रम अघि सारेको छ भने प्रदेश सरकारले पनि विशेष गौरवको योजना अघि बढाएको छ । रासस

प्रतिक्रिया दिनुस