कञ्चनपुरमा बुधबार ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा भीमदत्तनगरपालिकाका ४८ जना, बेदकोट नगरपालिकाका ३ जना, सुक्लाफाँटा नगरपालिका र कृष्णपुरका एक–एक गरी ५३ जना रहेका छन्।

त्यस्तै एन्टिजेन परीक्षणका क्रममा भीमदत्तनगरपालिकाका १२ जना, दोधारा–चादनी नगरपालिकाका १३ जना, पुर्नवास नगरपालिकाका ३ जना, बेल्डाडी गाउँपालिकाका ४ जना र गड्डाचौकीमा गरीएको परीक्षणका क्रममा एक जनामा गरी ३३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिइन्।

त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ६ जनाले ज्यान गुमाएका छन्। भीमदत्तनगरपालिका –५ का ६५ वर्षीया महिला, वडा नम्बर १८ का ८० वर्षीय पुरुष, वडा नम्बर ८ का ७५ वर्षीय महिला वडा नम्बर १८ का ७१ वर्षीय महिला, कृष्णपुर नगरपालिका –४ का ६९ वर्षीय पुरुष र लालझाडी गाउँपालिका–५का ३० वर्षीय पुरुषको कोरोना संक्रमण बाट निधन भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा एक सय ४ जना कोरोना जितेर घर फर्किएका स्वास्थ्य कार्यालय कञ्चनपुरकी कम्प्युटर अपरेटर भट्टले जानकारी दिइन्।

प्रतिक्रिया दिनुस