काठमाडौं– राष्ट्रियसभामा रिक्त पदका लागि वागमती प्रदेशमा आज उपनिर्वाचन हुँदै छ । वागमती प्रदेशको अन्य समूहतर्फ रिक्त एक पदका लागि उपनिर्वाचन हुन लागेको हो । नेकपा एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादललाई नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यबाट कारबाही गरेपछि रिक्त स्थानमा उप–निर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा एमालेले बादललाई नै उम्मेदवार बनाएको छ । स्वतन्त्र उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटा र नेपाल मजदूर किसान पार्टी (नेमकिपा)ले कृष्णगोपाल तामाङलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस र माओवादीले देवकोटालाई मत हाल्नेछन् ।
एमालेका माधवकुमार नेपालको प्रस्तावमा कांग्रेस÷माओवादीसमेतको सहमती लिइ देवकोटा उम्मेदवार बने पनि पछिल्लो समयमा नेपाल र पार्टी अध्यक्ष केपी ओलीबीचको सहमति भएपछि एमालेभित्रको माधव पक्षलाई सूर्य चिह्नमा मत हाल्न दवाव छ । सूर्य चिह्न बादलले पाएका छन् । माधव नेपालले हिजै एक विज्ञप्ति जारी गर्दै आफूपक्षीय मतदातालाई स्वविवेक प्रयोग गर्न अनुरोध गरेका छन् ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले उपनिर्वाचनको परिणाम आजै आउन सक्ने बताए । ‘कुनै प्राविधिक समस्या आएन भने मतपरिणाम आजै आउँछ’, उनले भने । उपनिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । वागमती प्रदेशसभा सदस्य ११० जना छन् । प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ जना छन् । यसरी जम्मा मतदाता ३४८ रहेकाले गणना गर्न धेरै समय नलाग्ने निर्वाचन आयोगका अधिकारीहरु बताउँछन् ।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मकवानपुरको हेटौंडास्थित भुटनदेवी मावि निर्वाचन केन्द्रमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । भोट खसाल्न तीनवटा बुथको व्यवस्था गरिएको छ । ‘क’ बुथमा प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् भने ‘ख’ मा स्थानीय तहका प्रमुख, उपप्रमुखले मतदान गर्नेछन् ।
यस्तै कोरोनाभाइरस संक्रमण भएका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुखका लागि ‘ग’ बुथको व्यवस्था गरिएको छ । यसैगरी राष्ट्रियसभामा रिक्त अर्को एक पदका लागि लुम्बिनी प्रदेशमा यही जेठ १७ गते उपनिर्वाचन हुँदैछ । त्यहाँ नेकपा (एमाले)का तर्फबाट अर्घाखाँची मालारानी–५ का चन्द्रबहादुर खड्का र दृगनारायण पाण्डे प्रतिस्पर्धामा छन्
निर्वाचन आयोगले मतदाताका लागि कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य नपर्ने यसअघि नै बताइसकेको छ ।