बैतडी-शिवनाथ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाको अत्यावश्यकबाहेकका सेवा स्थागित गरिएको छ। अध्यक्ष कर्ण साउद, उपाधयक्ष कुश्मा चन्दसहित नौजनामा संक्रमण पुष्टि भएको हो। केही दिनअघि गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको उपाध्यक्ष चन्दले जानकारी दिइन्। संक्रमण पुष्टि भएका सबैजना होम आइसोलेसनमा रहेका छन्।
संक्रमित सबैको अवस्था सामान्य रहेको उनले बताइन्। गाउँपालिकाकै काममा रहेका बेला संक्रमण भएको हुनसक्ने उपाध्यक्ष चन्दको भनाइ छ। जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा जेठ १७ गतेसम्म स्थगित गरिएको छ। गाउँपालिकामा हालसम्म ८१ जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य शाखा प्रमुख नरेन्द्रसिंह महताले बताए।
कोरोना संक्रमणबाट बच्नका लागि अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गरिदिन समेत गाउँपालिकाले अनुरोध गरेको छ।