प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरुसँग बालुवाटारमा आज सोमबार भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुको बैठक सकिएको छ। करिब दुई घण्टा चलेको बैठक सकारात्मक भएकाले जसपा सरकारमा सहभागी हुने सहमति जनाइएको छ।

जसपाका नेता लक्षणलाल कर्णकाअनुसार प्रधानमन्त्री ओलीले सरकारमा आउने प्रस्ताव गर्नुभएको र जसपालाई दिने मन्त्रालय संख्या टुङ्गो लागेपछि सरकारमा जाने तयारी भएको जानकारी दिए। जसपालाई आठ मन्त्रालय तथा दुई राज्यमन्त्री दिने सहमति बनेको नेता कर्णले जानकारी दिए। तर मन्त्रालयको नाम भने उनले लिन मानेनन्। बालुवाटारमा बैठकमा सहभागी हुनुभएका एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङकाअनुसार बैठकमा जसपाको माग मुद्दा सम्बोधन गराउने विषयमा समीक्षात्मक छलफल भएको छ ।

मन्त्रालयको भागवण्डाबारेमा प्रधानमन्त्री र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच सहमति हुनसक्ने तर बैठकमा त्यसबारे जानकारी नगराइएको उनले बताए। “प्रधानमन्त्री ओलीले सरकारमा सहभागी हुन आव्हान गर्नुभयो, सबै दललाई सरकारमा सहभागी हुन आव्हान प्रधानमन्त्रीले गर्दैआउनुभएको छ, मन्त्रालय कुन कुन लिने दिने टुङ्गो प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुरले लगाउनुहोला” उनले भने ।
यसअघि माओवादीबाट एमालेमा प्रवेश गर्नुभएका नेताहरुले सम्हाल्नुभएका मन्त्रालय जसपालाई जाने बताइएको छ । तर गृहमन्त्रालय प्रधानमन्त्री ओलीले आफूसँग राख्न चाहेको बुझिएको छ ।

गृहमन्त्रालयको जिम्मेवारी यसअघि रामबहादुर थापा बादलले सम्हाल्नुभएको थियो । सहमतिअनुसार जसपा सरकारमा तत्काल सहभागी हुने भएपनि पार्टी भित्रको आन्तरिक विवादका कारण केही ढिलो हुने नेता कर्णले जानकारी दिए । भोलि नै त हामी सरकारमा सहभागी हुन सक्दैनौं, मन्त्रालयको संख्या टुङ्गो लागेपनि पार्टीभित्र कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने आन्तरिक गृहकार्य गर्न बाँकी छ उनले भने,– “जसपाको तर्फबाट सबै मन्त्री एकैदिन सहभागी हुने वातावरण बनाउँछौं, कोही अघि र कोही पछि जाने हाम्रो सोच छैन ।” जसपाबाट संसदीयदलका नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी जनाउने तयारी सो दलले गरेको छ ।

अहिलेसम्म मन्त्री हुने सूचीमा अनिलकुमार झा, शरतसिंह भण्डारी, उमाशंकर अरगरिया, एकवाल मियाँ, विमल श्रीवास्तव, चन्दा चौधरी, रेणुका गुरुङ लगायतको नाम चर्चामा छ । यद्यपि उपेन्द्र यादव पक्ष त्याग गरेर ठाकुर पक्षमा लागेका सांसदको माग मन्त्री हुनपाउने रहेको बताइएको छ । ठाकुर–महतो पक्षमा अहिले २० सांसद रहेको सो दलले जनाएको छ । जसपाको कुल ३२ सांसद छन् । सरकारमा जाने सहमति भइसके पनि पार्टीको आन्तरिक तयारीले एक दुई दिन समय लाग्ने नेता कर्णले बताए। बैैठकमा बाँकी अन्य विषयमा समिक्षात्मक छलफल भएको उनले बताए।

प्रतिक्रिया दिनुस