काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले गम्भीर बन्दै गएको देशको राजनीतिक परिस्थिति, राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या, बजेट वक्तव्य लगायतका विषयबारे प्रेसवक्तव्य मार्फत् पार्टीको नीति तथा अभिमत सार्वजनिक गरेको छ ।

१९ जेठमा सार्वजनिक गरेको ४ बुँदे वक्तव्यमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट राष्ट्र तथा जनविरोधी भएको ठहर गर्नुभएको छ भने देश निरङ्कुशतावाद, फासीवाद तथा राष्ट्रघातको कहालीलाग्दो अवस्थामा पुग्न थालेका भन्दै छरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरु र देशभक्त जनसमुदायलाई संयुक्त सङ्घर्षको तयारीमा जुट्न हार्दिक अनुरोध गर्नुभएको छ ।

यस्तो छ वक्तव्यको पूर्णपाठ
“गम्भीर बन्दै गएको देशको राजनीतिक परिस्थिति, राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या, बजेट वक्तव्य लगायतका विषयबारे प्रेसवक्तव्य मार्फत् पार्टीनीति तथा अभिमत यस प्रकार सार्वजनिक गरिएको छ :-
१. सरकारद्वारा पहिलो देखि दोस्रो पटकसम्म प्रतिनिधि सभा विघटन गरेयता अहिलेसम्म आउँदा देशको राजनीतिक परिस्थिति असामान्य बन्दै जान थालेको देखिन्छ । गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता लगायत जनयुद्ध तथा जनआन्दोलनका आंशिक उपलब्धि गुम्ने मात्र होइन, देशको राष्ट्रिय स्वाधीनता माथि नै गम्भीर खतरा पैदा हुन थालेको छ । यो बेला एकैसाथ राष्ट्रियता तथा जनतन्त्रका समस्या पहिले भन्दा झनै गम्भीर बन्दै गएका छन् र देश निरङ्कुशतावाद, फासीवाद तथा राष्ट्रघातको कहालीलाग्दो अवस्थामा पुग्न थालेको छ । साथै, यो बेला कोरोना महामारी समेतका कारण जनजीविकाका समस्या निकै विकराल बनेका छन् । यसरी जटिल तथा गम्भीर बन्दै गएका समस्याहरूको समाधान उही असफल प्रमाणित भैसकेको संसदीय प्रतिनिधि सभाको मध्यावधि निर्वाचनद्वारा कदापि हुन सक्दैन । यस स्थितिमा वर्तमान सत्ता तथा व्यवस्थाको विकल्पका रूपमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गरी वैज्ञानिक समाजवाद तर्फ अगाडि बढ्न अनिवार्य रूपमा आवश्यक भएको धारणा हाम्रो पार्टी पुनः स्पष्ट गर्दछ । यो बेला हाम्रो पार्टी विभिन्न ढङ्गले स्वतन्त्र तथा सङ्गठित रूपमा रहेका क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध हुन, क्रान्तिकारी विकल्पबारे गम्भीरतापूर्वक चिन्तन मनन गर्न र संयुक्त रूपमा सङ्घर्षलाई अगाडि बढाउनका लागि विशेष अपिल गर्दछ । त्यसैगरी हाम्रो पार्टी सबै सच्चा देशभक्त, जनतान्त्रिक तथा वामपन्थीहरूसित देशको राष्ट्रिय स्वाधीनताको रक्षा, जनताका जनतान्त्रिक हक अधिकारको प्राप्ति र जनजीविकाका समस्याको समाधानका लागि संयुक्त सङ्घर्षको तयारीमा जुट्न हार्दिक अनुरोध गर्दछ ।
२. सरकारद्वारा अध्यादेश मार्फत् यही जेठ १५ गते रु. १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट वक्तव्य जारी गरिएको छ । यस बजेटमा सरकार सञ्चालन सम्बन्धी चालु खर्चतर्फ निकै बढी ४१.२ प्रतिशत र विकास सम्बन्धी पुँजीगत खर्च तर्फ निकै कम २२.७ प्रतिशत विनियोजन गरिएको छ । राजस्वको ठुलो राशि चालु खर्चतर्फ छुट्याइएको छ भने पुँजीगत खर्च विदेशी ऋण तथा अनुदानको कृपामा निर्भर बन्न गएको छ । वित्तीय व्यवस्थापन तर्फको १२.६ प्रतिशत साँवा ब्याज तिर्नमा नै खर्चहुने स्पष्ट छ । यो वर्ष नेपाल निकै ठुलो ऋणभारमा डुब्न गएको छ । यस बजेटमा उद्योग लगायत समग्र अर्थतन्त्रमा वैदेशिक लगानी, विशेष आर्थिक क्षेत्र, कृषिमा कर्पोरेट फार्मिङ् तथा भूमिबैङ्कको व्यवस्था आदिमा विशेष जोड दिइएको छ । यो बजेट उद्योग व्यवसायबाट राष्ट्रिय पुँजीपति र कृषिबाट किसान वर्गलाई विस्थापन गर्ने उद्देश्यमा आधारित छ । यस बजेटमा देशको पर्यावरण तथा राष्ट्रिय अस्मिताका विरुद्ध खानीढुङ्गा, गिट्टी, बालुवा भारत तर्फ निकासी र विद्युतीय प्रसारण लाइनमा एमसीसी परियोजना कार्यान्वयनमा जोड दिएर क्रमशः भारतीय विस्तारवाद तथा अमेरिकी साम्राज्यवादको थप दलाली गरिएको छ । यस बजेटले एकातिर उच्च वर्गका लागि विभिन्न करहरूमा विशेष छुटको व्यवस्था गरेको छ भने अर्कोतिर मजदुर वर्गलाई आवश्यक वेतन, सुविधा, राहत प्रदान गर्ने कामबाट पुरै पछि हटेको छ । साम्राज्यवादी नवउदारवादद्वारा निर्देशित यस बजेटमा जुन समृद्ध नेपाल सुखी नेपाली, समाजवाद जस्ता कुरा उल्लेख गरिएका छन् ती जनतालाई भ्रमित तुल्याउने कसरत बाहेक अरु केही होइनन् । समग्रमा यो बजेट दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गीय हक हितको संरक्षण, वैेदेशिक प्रतिक्रियावाद परस्तता, परम्परावाद, सस्तो लोकप्रियतावादमा आधारित र जनहित विपरीत, देशको स्वतन्त्र राष्ट्रिय अर्थतन्त्र विरोधी तथा चुनावमुखी रहेको छ । हाम्रो पार्टी यस प्रकारको राष्ट्र तथा जनविरोधी बजेटको सशक्त विरोध गर्दछ ।
३. कोरोना भाइरसजन्य दोस्रो लहरको भीषण आक्रमणबाट जनता निकै छटपटाइरहेका छन् । सरकार एकातिर कोरोना भाइरस परीक्षणको दायरालाई घटाउँदै तथा महामारी न्यून भएको प्रचारबाजी गर्दै त्यसको रोकथाम तथा उपचार लगायत जनताको जीवनरक्षा तथा जनस्वास्थ्य सम्बन्धी जिम्मेवारीबाट भाग्दै कथित चुनावी अभियानमा लागेको छ भने अर्कातिर यो महामारी सहरबाट गाउँतिर व्यापक रूपमा फैलदै गएको छ । रोजगारी गुमाउन र कामबाट वञ्चित हुन पुगेका मजदुर तथा विपन्न जनताको जीवन निर्वाहको समस्या निकै जटिल बन्न गएको छ । यस स्थितिमा हाम्रो पार्टी कोरोना परीक्षणको दायरा बढाउन, निःशुल्क एवम् सर्वसुलभ स्वास्थ्यसेवा उपलब्ध गराउन तथा शीघ्रातिशीघ्र खोपको व्यवस्था मिलाउन र विपन्न, गरिब तथा मजदुर वर्गका जनताका लागि राहत, उद्धार तथा बेरोजगार भत्ताको प्याकेज कार्यक्रम ल्याउनका लागि सरकारसित जोडदार माग गर्दछ ।
४. क. विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ताहरूको कारागारबाट रिहाइका लागि सहमति गरिएकोमा अहिलेसम्म क. हेमन्त प्रकाश वली लगायतका नेता कार्यकर्ताहरूलाई मुक्त गरिएको छैन । हाम्रो पार्टी उहाँहरू सबैको अविलम्व रिहाइका लागि सरकारसित विशेष माग गर्दछ ।

प्रतिक्रिया दिनुस