विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीमा देखिएको विवाद समाधानका लागि बिहीवार बस्ने भनिएको नेकपा एमाले स्थायी कमिटीको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको छ । बुधवार स्थगित भएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजेका लागि बैठक बोलाइएको थियो । अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

पार्टीभित्र सहमति खोज्नेको लागि बैठक सरेको एक स्थायी कमिटी सदस्यले बताए । मंगलवार बसेको बैठकले पार्टीमा एकताका लागि अन्तिमसम्म पहल गर्ने निर्णय गरेको थियो । माधव नेपाल एकतामा नआए अन्य नेताहरूलाई समेट्न कोसिस गर्ने अस्तिको स्थायी कमिटी बैठकमा निर्णय भएको थियो ।

सहमतिको प्रयासका लागि भन्दै १२ जनामाथि सोधिएको स्पष्टीकरण र कारवाही एमालेले रोकेको छ । जेठ १० गते माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल लगायत ११ जनालाई कारवाही गरिएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायत अन्य १२ जनालाई स्पष्टीकरण सोधिएको थियो । नेताहरू पाण्डे, भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट संस्थापन पक्षसँग छलफलमा छन् । जेठ २ गतेकै अवस्थामा फर्किएर अधिकतमलाई पार्टी एकतामा समेट्ने प्रयास गरिने संस्थापन पक्षका नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुस