डोटीको आदर्श गाउँपालिका–१ चाँसी गाउँ कोभिड–१९ ले प्रभावित छ। गाउँपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गाउँका ८५ जनाको कोभिड परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको हो। गाउँपालिकाका सिनियर अहेब बमबहादुर खड्काले सिंगो गाउँ नै कोभिड संक्रमणले प्रभावित भएपछि उपचारमा पनि समस्या भएको बताए।

‘एउटै परिवारका ६ जनासम्मलाई संक्रमण पुष्टि भएको छ,’ खड्काले भने, ‘परीक्षण नभएका अन्य व्यक्तिमा पनि कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएको छ। गाउँका अधिकाशंलाई संक्रमण पुष्टि भएपछि अन्य व्यक्ति परीक्षण गर्न नै अस्विकार गरिरहेका छन् ।’ उनका अनुसार ५२ जना संक्रमितमध्ये दुई जना स्वास्थ्यकर्मी पनि छन् ।

‘प्रभावित गाउँमा अन्य स्वास्थ्यकर्मी जान सक्ने अवस्था नभएपछि संक्रमित स्वास्थ्यकर्मीले नै अन्यको उपचार गरिरहेका छन्,’ उनले भने । ५२ जनामध्ये अहिलेसम्म कुनै संक्रमितलाई पनि अस्पतालमा भर्ना गरिएको छैन् ।स्थानीयले सिंगो गाउँ जोखिममा परेको भन्दै उपचारका लागि स्थानीय र प्रदेश सरकारलाई गुहारेका छन्। स्थानीय दीपकबहादुर खड्काले संक्रमितको उपचारसहित सुरक्षित स्थानमा बस्ने व्यवस्था गरिदिन सरकारसमक्ष माग गरे।

प्रतिक्रिया दिनुस