महेन्द्रनगर–सुदूरपश्चिममा मंगलबार प्रदेशसभामा भएको विश्वासको मतदानमा नेकपा एमालेकै सांसदहरुको सहयोगका कारण माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकार जोगिएको छ । नेकपा एमालेको समर्थनका कारण मुख्यमन्त्री त्रिलोचन भट्टको सरकार जोगिएको हो ।

नेकपा एमालेका माधव नेपाल समूहका सांसदले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिए। एमालेकै सांसदहरुले विश्वासको मत दिँदा कांग्रेसले तटस्थ बसेरै पनि सरकार जोगियो। जसमा एमालेका १७ सांसदले विश्वासको मत दिएका हुन् । २४ मध्ये सात जनाले भने विपक्षमा मतदान गरेका छन् । यस्तै दुई सांसद रहेको जनता समाजवादी पार्टीले पनि विपक्षमा मतदान गरेको छ । सुदूरपश्चिममा रहेका दुई जसपाका सांसद महन्थ ठाकुर पक्षका हुन् ।

केन्द्रमा दुई पार्टीमा विभाजन भएपछि त्यसको असर प्रदेशमा पनि देखिएको हो। केन्द्रमा माओवादीले कांग्रेसँग मिलेर सरकार ढाल्ने क्रियाकलाप गरेसँगै नेकपा एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको थियो। सुदूरपश्चिम प्रदेशसभामा जम्मा ५२ सांसद छन्। त्यसमध्ये सबैभन्दा ठूलो दल नेकपा एमाले नै हो। जसका २४ सांसद् छन्। प्रदेशसभामा बुहमत पुग्नका लागि २७ सांसदको आवश्यकता रहेपनि मुख्यमन्त्री भट्टले ३० मत पाएका छन् ।

स्थायी कमिटीले विश्वासको मत नदिन निर्देशन जारी गरे पनि माधव समूहको बहुमत रहेको प्रदेशसभामा मंगलबार बिहानै एमाले संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारलाई नै विश्वासको मत दिने निर्णय गरिसकेको थियो। सुदूरपश्चिममा फ्लोर क्रस भएसँगै नेकपा एमालेभित्रको विवाद झन् उग्र हुने भएको छ। यसअघि कर्णालीमा माधव समूहले फ्लोर क्रस गराएर माओवादी केन्द्रको सरकार जोगाइदिएको थियो।
यी हुन् एमालेका १७ सांसद् जसले माओवादी नेतृत्वको सरकारका पक्षमा मतदान गरे—
१.  माया भट्ट
२. तारा लामा तामाङ्ग
३. कुलवीर चौधरी
४. अमरबहादुर साउद
५. चुनकुमारी चौधरी
६. दुर्गाकुमारी कामी
७. दीर्घ सोडारी
८. अर्चना गहतराज
९. पूर्णा जोशी
१०. प्रकाशबहादुर शाह
११. प्रकाश रावल
१२. बलबहादुर सोडारी
१३. मनाकुमारी साउद
१४. कृष्णराज सुवेदी
१५. लालबहादुर खड्का
१६. सुशीला बुढाथोकी
१७. हर्कबहादुर कुँवर ।

प्रतिक्रिया दिनुस