फाइल।

महेन्द्रनगर–लगातारको अविरल वर्षाले महाकाली र सेती नदिमा पानीको बहाव बढ्दै गएको छ। तटीय क्षेत्रमा आज शुक्रबार बेलुका पानीको बहाब उच्च रहने सम्भावना रहेको बताइएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार ‘अति जरुरी सूचना’ भन्दै नदी तटीय क्षेत्रमा सतर्क रहन अनुरोध गरेको छ।

महाकाली नदी दार्चुलास्थित दत्तुको बाढी मापन केन्द्रमा जलसतह ५.८० मिटर र परिगाउँ डडेल्धुरामा जलसतह ३.५० मिटर पुगेको र बढ्दो क्रममा रहेको एवं माथिल्लो क्षेत्रमा हल्का बर्षा जारी रहेकोले महाकाली नदीको कञ्चनपुर तटीय क्षेत्रमा बाढी आउन सक्ने जोखिम रहेको बताइएको छ। बाढीको जोखिम रहेकोले सो क्षेत्रमा नजान, जोखिम आंकलन गरि सुरक्षित स्थानमा स्थानान्तरण हुन एवं उच्च सतर्कता अप्नाउन समेत कञ्चनपुर प्रशासनले सम्बन्धित सवैलाई जानकारी गराएको हो।

No photo description available.

त्यस्तै डोटी स्थित सेती नदिमा पनि पानीको बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ। डोटीको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ। सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ८.४ क्युसेक पुगेको छ। यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो । केन्द्रका अनुसार ३.५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ ।

नदीले यहाँका धान रोपेका खेतमा कटान गरी बगाउन थालेको छ । सेती नदी आसपासका बस्ती बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासीलाई विशेषगरी रातिको समयमा सचेत रहन प्रहरी प्रशासनले आग्रह गरेको छ । त्यसैगरी नदीमा पानीको बहाव बढ्न थालेसँगै इलाका प्रहरी कार्यालय दिपायल, प्रहरी चौकी तिल्तालीको टोलीले नागरिकलाई नदी क्षेत्रमा नजान तथा सचेत रहन माइकिङ गरिरहेको छ ।

सेतीमा पानीको बहाव बढेकाले नदी आसपासका नागरिकलाई सुरक्षित रहन र नदीमा माछा मार्दै आएका नागरिकलाई केही दिन नदीमा नजानसमेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए । लगातारको वर्षाका कारण बाढीपहिरो आउने खतरा बढेकाले प्रजिअ खनालले विपद् व्यवस्थापनमा जुट्नका लागि जिल्लाका तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई ‘हाइअलर्ट’ मा बस्न निर्देशनसमेत दिएका छन्। वर्षाकै कारण यहाँका विभिन्न ठाउँमा पहिरो गएको छ भने एक दजर्नभन्दा बढी ग्रामीण सडक अवरुद्ध भएका छन्। वर्षा शुरु भएसँगै जिल्लाको ग्रामीण भेगका अधिकांश सडक अहिले सवारी साधन गुड्न नसक्ने अवस्थाका भएका छन् ।

वर्षाले हिलाम्मे भएका यस्ता सडकमा सवारी साधन गुड्न बन्द भएसँगै सदरमुकाम कोही बिरामी परे पनि सदरमुकामका अस्पतालसम्म लैजान सक्ने अवस्था नरहेको र सदरमुकामसँग गाउँघरको सम्पर्कसमेत विच्छेद हुन थालेको जोरायल गाउँपालिका–५ का पूर्णबहादुर विष्टले जानकारी दिए। उता जिल्लाको जोरायल तथा बिपीनगरमा रहेको ठूलीगाडमा समेत पानीको सतह निकै बढेकाले सतर्क रहन आग्रह गरिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए ।जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार हालसम्म पहिराका कारण जिल्लामा एक जनाको ज्यान गइसकेको छ भने दुई बालिका घाइते भएका छन् ।

प्रतिक्रिया दिनुस