बझाङ — अध्ययन र कामको सिलसिलामा विभिन्न देशमा छरिएका बझाङीहरूले कोभिड संकटसँग जुध्न जिल्लाका १२ स्थानीय तहलाई करिव ८ लाखको स्वास्थ्य सामग्री सहयोग गरेका छन्। कोभिड संकटबाट बझाङलाई बचाउनका लागि विश्वभर छरिएका ‘बझाङीहरू एक जुट होऔं’ भन्ने नारासहित सामाजिक सञ्जालमा चलाइएको अभियानबाट संकलित रकमले स्वास्थ्य सामग्री तथा औषधि खरिद गरी स्थानीय तहलाई हस्तान्तरण गरिएको जनाइएको छ।

एक महिनाअघि विपत्का बेला काम गर्दै आएको युवाहरूको स्वयंसेवी संस्था खप्तड छान्ना राइजिङ अप लामातोलाको पहलमा विदेशमा बस्ने बझाङीहरू र बझाङ जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूसँग जिल्लामा ‘कोरोनाको वर्तमान अवस्था र आवश्यकता’ बारे भर्चुअल माध्यममा छलफल भएको थियो ।

जापान, अमेरिका, कोरिया, मलेसिया, अस्ट्रेलिया, भारतलगायतका देशमा रहेका करिब ५० युवा र स्वास्थ्यकर्मीबीच भर्चुअल माध्यमबाट भएको छलफलमा स्वास्थ्यकर्मीहरूले महामारीका बेला जिल्लाका अस्पताल र स्वास्थ्य चौकीहरूमा औषधि, पीपीई, गन थर्मोमिटर, अक्सिमिटरलगायत स्वास्थ्य सामग्रीको कमी रहेको जनाएका थिए। उनिहरुले स्वास्थ्य सामग्री उपलब्ध गराइदिन अनुरोध गरेका थिए। छलफललगत्तै बिभिन्न मुलुकमा बझाङीहरूले सामाजिक सञ्जालमा सहयोग समूह बनाएर अभियान थालेका थिए। आर्थिक संकलनका लागि अमेरिकाबाट विष्णुप्रसाद जोशी र जापानबाट रमेश थापाले सहयोग अभियानको नेतृत्व गरेका थिए।

गो फन्ड मी, फेसबुकलगायत माध्यमबाट उक्त रकम संकलन गरिएको थियो। यसरी थालेको अभियानले एक महिनामा करिब ८ लाखको सहयोग जुटेको खप्तडछान्ना राइजिङ अफ लामातोलाका अध्यक्ष दिनेश थापाले बताए। संकलित रकमबाट पीपीई सेट, सर्जिकल ग्लोब्स, इग्जामिनेसन ग्लोब्स, थर्मल, पल्स अक्सिमिटर, सर्जिकल मास्क, एन नाइन्टी–फाइभ मास्क, सेनिटाइजर र कोरोनाको उपचारमा प्रयोग हुने औषधिहरू खरिद गरिएको थियो । त्यही रकमबाट सबै पालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको उनले जनाए।

प्रतिक्रिया दिनुस