दार्चुला — यार्चा संकलनका लागि सिजन सकिने बेलामा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले संकलन अनुमति दिन सुरु गरेको छ। यार्चा हिमाली क्षेत्रका स्थानीयको आम्दानीको मुख्य स्रोत हो। संरक्षण क्षेत्र कार्यालयले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयको आधारमा असार ४ देखि असार २५ गतेसम्म संकलन अनुमति पत्र वितरण गरिरहेको जनाएको छ।

यसअघि उक्त कार्यालयले यार्चाको दिगो व्यवस्थापन गर्न भन्दै संकलन तथा ओसारपसार निर्देशिका २०७३ अनुसार जेठको दोस्रो साताबाट ३० दिनसम्म संकलन गर्ने म्याद तोकेको थियो । तर यार्चा संकलनका बखत हुने भीडभाडले कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै संकलन अनुमति पत्र वितरण कार्य र संकलन नगर्न रोक लगाएको थियो । उता वैशाखदेखि नै हिमाली पाटनहरूमा संकलकहरू अनुमति बिना सूचनाको अवज्ञा गर्दै यार्चा संकलन गरिरहेका छन्। संकलन सिजन सकिने बेला अनुमति पत्र वितरण गर्न सुरु गरिएको हो । जेठ ३० गतेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णयअनुसार यार्चा संकलन अनुमति पत्र वितरण कार्य सञ्चालन गर्न लागिएको संरक्षण क्षेत्र कार्यालयका सूचना अधिकारी सन्तबहादुर मगरले बताए ।

जिल्लाका व्यास र अपिहिमाल गाउँपालिका दर्जन बढी पाटनहरूबाट यार्चा संकलन गरिन्छ । सुरुमा जिल्लाका हिमाली गाउँका स्थानीयले यार्चा संकलन गर्ने भएपनि पछिल्लो समय जिल्लाका सबै ठाउँका मानिसहरू हिमाली पाटनमा दुःखकष्ट सहेर पनि यार्सा संकलन गर्दै आएको दुहु गाउँपालिका–२ का वडाध्यक्ष गोविन्दसिंह डडालले बताए । हिमाली भेगका अधिकांशको घर खर्च यार्चाबाट नै चल्छ, यो वर्ष र गत वर्ष कोरोना महामारीले संकलनमा समस्या गरेको छ,’ उनले भने, ‘यहाँका स्थानीयको मुख्य आयस्रोत यार्चा नै भएकाले अन्य काम छोडेर स्थानीयहरू यो सिजनमा हिमाली पाटन पुग्छन् ।’ कोरोना संक्रमणका कारण रोकिएको यार्चा संकलन स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी संचालन गरिएको हो । कार्यालयका सूचना अधिकारी मगरका अनुसार भौगोलिक हिसाबले उच्च हिमाली तथा पहाडी भूभाग रहेको जिल्लामा उत्पादन हुने खाद्यान्नले यहाँका स्थानीयलाई ६ महिनासम्मका लागि मात्रै खान पुग्ने गरेको छ ।

प्रतिक्रिया दिनुस