महेन्द्रनगर– सुदूरपश्चिममा पछिल्लो २ दिनमा कोरोना भाइरसबाट मृत्यु हुने दर शुन्यमा झरेको छ। स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार कोरोनाको दोस्रो लहर फैलिएयता सुदूरपश्चिमका ९ वटै जिल्लाबाट पछिल्लो ४८ घण्टामा कोरोनाबाट मृत्यु हुनेको जानकारी नआएको हो। यसअघि गत जेठ २५ गते पनि पहिलो पटक सुदूरपश्चिममा मृत्यू दर शुन्यमा झरेको थियो।

पछिल्लो २४ घण्टामा प्रदेशमा एक हजार ८ सय ९२ जनाको नमूना परीक्षण गरिएकोमा ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। ४ सय ४४ जना कोरोना जितेर घर फकिएका छन्। प्रदेशमा अहिलेसम्म ४३ हजार४ सय ४२ सङ्क्रमित पुगेका छन्। अहिले सम्म दुई लाख ५९ हजार ८८७ जनाको कोरोना भाइरसको नमूना परीक्षण गरिसकिएको छ। दोस्रो लहरको कारोना भाइरस फैलिएयता गएको जेठ ७ गते एकै दिनमा प्रदेशमा सबै भन्दा बढी ९८४ जना नयाँ सङ्क्रमित थपिएका थिए। प्रदेशमा सबै भन्दा बढी एकै दिन ३१ जना सङ्क्रमितको मृत्यु भएको थियो।

कोरोना भाइरसको रोकथामका लागि जारी गरिएको निषेधाज्ञा प्रदेशका जिल्लाहरुमा पछिल्लो हप्तादेखि केही खुकुलो परिएको छ। पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण र मृत्यु हुने दर घटेको देखिएपनि सङ्क्रमणको जोखिम यथावत रहेको स्वास्थ्यकर्मीको भनाइ छ निर्देशनालयको तथ्याङ्क विश्लेषण गर्दा हालसम्म प्रदेशमा जम्मा नमूना परीक्षण गरिएका मध्ये ४३ हजार ४४२ जना अर्थात झण्डै १७ प्रतिशतमा सङ्क्रमण भएको पाइएको छ। सङ्क्रमित हुने मध्ये ५७० जना आर्थात एक दशमलब ३१ प्रतिशतको मृत्यु भएको छ। अहिलेसम्म एन्टिजेन परीक्षण गराएका २४३ र पिसिआर परीक्षण गराएका ३२७ जनाको उपचारका क्रममा मृत्यु भएको छ।

प्रतिक्रिया दिनुस